काठमाडौं । इन्जिनियरको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।
पहिलो पटक लिइएको लाइसेन्स परीक्षामा देश–विदेशका विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका १ हजार ९ सय ८१ जना सहभागी भएकामा ५ सय ६५ परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । ११ जनाको परीक्षा रद्द गरिएको छ ।
लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । नेपाल इन्जिनियरिङ परिषदले यस वर्ष चैत दोस्रो साता पहिलो पटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो ।
इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।
परिषद्ले पुल्चोकको आईटी सेन्टरमा कम्प्युटर विधिबाट परीक्षा लिएको थियो । इन्जियिरिङ विषयका २२ विधामा लिइएको परीक्षामा यस पटक सहभागीमध्ये अधिकांश विदेशबाट पढेर फर्केका र पूरक परीक्षा दिएकाहरू थिए । अनुत्तीर्णहरूले अर्को पटक पनि परीक्षा दिन पाउनेछन् ।
परिषद्का अनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्रको आधारमा ७७ हजारले लाइसेन्स लिइसकेका छन् ।