अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) अन्तर्गत दिल्ली र ऋषिकेशमा अध्ययनरत आवासीय नेपाली डाक्टरले मासिक तलबभत्ता नपाएको बारे एम्स सम्बद्ध चिकित्सकले आवाज उठाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा एम्समा रहेका नेपाली डाक्टरको समस्या समाधान गर्नका लागि आवाज उठाइदिन डाक्टरको एउटा समूहले आग्रह गरेको छ । बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर एम्समा एमडी/एमएस/एमडीएस/ डीएम/एमसीएच अध्यनरत आवासीय डाक्टरले बेहोरेको समस्याका बारेमा समूहले जानकारी गराएको थियो ।
मासिक करिब १ लाख भारु तलब भत्ता रहने सुविधाबाट हाल दिल्ली र ऋषिकेशका झन्डै १ सय नेपाली रेसिडेन्ट डाक्टर सुविधाविहीन भएका हुन् । यस विषयमा परराष्ट्र मन्त्रालयले पनि रेसिडेन्ट डाक्टरको सरोकारलाई सम्बोधन गर्दै दिल्लीमा पत्र पठाइसकेको बताइएको छ ।