गोरखा । पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दो छ । गाउँठाउँमा रहेका महिलाहरुले आङ खस्ने समस्या लुकाएर राख्दा समस्या बढेको हो ।
सिरानचोक गाउँपालिका विभिन्न वडामा गरेको एकिकृत घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका १३५ महिला मध्ये १६ जनामा क्यान्सरको लक्षण देखिको छ । उनीहरुको पाठेघरको मुखको क्यान्सर देखा परेको स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि अन्यत्र रिर्फर गरिएको छ ।
सिरानचोक गाउँपालिकाको स्वास्थ शाखाद्धारा चैत ६ गते गाँखु स्वास्थ्य चौकी, ८ गते जौवारी प्राथामिक स्वास्थ्य केन्द्र, फागुन ९ गते थालाजुङ र १० गते छोप्राक स्वास्थ्य चौकीमा एकिकृत घुम्ती स्वास्थ्य शिविर गरेको थियो । उक्त शिविरमा कुल ७६२ जनाले स्वास्थ्य जाँच गराएका थिए ।
ती मध्ये ३८७ जनाले मधुमेह जाँच, २७६ जनाले आँखा परीक्षण, २३ जना गर्भवती महिलाको भिडियो एक्सरे गर्नुका साथै उनीहरुलाई क्यालसियम वितरण समेत गरिएको थियो । शंकास्पद १० जना क्षयरोगका विरामीहरुको खकार परीक्षणका लागि पठाइएको पनि उनले जानकारी दिए ।
ती शिविरहरुमा २१ ज्ना अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र पनि निर्माण भएको सिरानचोक गाउँपालिकाले जानकारी दिएको छ । शिविरमा बरिष्ठ चिकित्सक डा. गुणराज लोहनी, गोरखा अस्पतालका चिकित्सकहरु, जौवारी प्राथामिक केन्द्रका चिकित्सक, गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको टोलीले परीक्षण गराएको थियो ।
स्थानीय स्तरमा रहेका स्वास्थ्य चौकीबाट उपलब्ध हुन नसक्ने सेवालाई गाउँमै पु¥याएर सेवा दिने उदेश्यले आलोपालो रुपमा वडावडामा एकिकृत घुम्ती स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको सिरानचोक गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र गुरुङले जानकारी दिए । यसले अस्पताल पुगेर गुणस्तरीय स्वास्थ्य सेवा लिन नसक्ने बिरामीहरुलाई बढि लाभ पुगेको छ । सोही अनुरुप उक्त कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना छ ।