काठमाडौँ । सत्ता गठबन्धनमा फेरबदल भएपछि अहिले नेपाली काँग्रेसभित्र मन्त्रिका लागि दौडधुप चलिरहेको छ ।
आठ मन्त्रालय दावी गरेको काँग्रेसले अर्थसहित स्वास्थ्य लगायतका मन्त्रालय पाउदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुनः विश्वासको मत दिएपछि सरकारमा जाने तयारीमा रहेको काँग्रेसले कुन मन्त्रालयमा कसलाई पठाउँने भन्ने अहिलेसम्म टुंगो लगाई सकेको भने छैन ।
सम्भवत एक दुईदिनमै सरकारमा जाने गरी उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा सभापति शेरबहादुर देउवाले मन्त्रिहरु पठाउन कसरत गरिरहेका बेला पार्टीका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने स्वास्थ्यमन्त्रीमा प्रदिप पौडेललाई प्रस्ताव गरेका छन् ।
काँग्रेस स्रोतका अनुसार महामन्त्रीद्धयले नै पौडेललाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिन लविङ गरिरहेका छन् । ‘दुवै महामन्त्रीले स्वास्थ्यमा प्रदिपलाई नै पठाउनुपर्छ भन्नुभएको छ’ एक नेताले सिभिलखबरसंग भने ‘सम्भवत यसैमा सभापतिको पनि सहमती हुन्छ ।’
पौडेललाई स्वास्थ्य दिने बिषयमा राष्ट्रपति रामचन्द्र पौडेल समेत सकरात्मक रहेको बताइएको छ ।
पौडेल काठमाडौँ ५ बाट एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए ।