• सोमबार, साउन ११ २०८३

साउनयता गोरखामा एक सय १५ जना क्षयरोगका बिरामी भेटिए


आइतबार, चैत्र १२ २०७९
595
Shares

सुदिप श्रेष्ठ

गोरखा । जिल्लामा १ सय १५ जना क्षयरोग अर्थात टिभीका विरामी रहेका छन् । गत साउन देखि फागुन मसान्त सम्म जिल्लाका ११ वटा स्थानीय तहरुमा उक्त संख्यामा क्षयरोगका बिरामी भेटिएको हो ।

सबैभन्दा धेरै गोरखा नगरपालिकामा १७ जना क्षयरोगीका बिरामीहरु रहेका छन् । जहाँ महिला ७ जना पुरुष १० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यस्तै सबैभन्दा कम उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ४ जना मात्र संक्रमित भेटिएको स्वास्थ्य कार्यालय गोरखा सूचना अधिकारी नवराज खड्काले जानकारी दिए ।

उक्त पालिकामा २÷२ जना महिला र पुरुष रहेका छन् । ८ जना क्षयरोगी भएको अजिरकोट गाउँपालिकामा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । यस्तै बारपाक सुलिकोट गाउँपालिकामा ४ जना महिला र १० जना पुरुष गरि १४ जना क्षयरोगी रहेको उनले बताए ।

धार्चे गाउँपालिकामा १० जना संक्रमित रहेका छन् । उनीहरु मध्ये ८ जना महिला र २ जना पुरुष रहेका छन् ।
१५ जना संक्रमित रहेको आरुघाट गाउँपालिकामा ७ जना महिला र ८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । २ महिला र ६ पुरुष गरी भीमसेन थापा गाउँपालिकामा ८ जना क्षयरोगका बिरामी रहेका छन् ।

सिरानचोक गाउँपालिकामा भने ५ जना पुरुष मात्र संक्रमित रहेका छन् । पालुङटार नगरपालिकामा १३ जना क्षयरोगी सम्र्पकमा आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ती मध्ये ६ जना पुरुष र ७ महिला क्षयरोगी रहेका छन् । शहिद लखन गाउँपालिकामा २ महिला र १० पुरुष गरेर १२ जना संक्रमित रहेको छ । यस्तै गण्डकी गाउँपालिकामा ९ जना पुरुष मात्र क्षयरोगी रहेका छन् ।

सबैभन्दा धेरै महिला क्षयरोगी धार्चे गाउँपालिकामा ८ जना र पुरुष बारपाक सुलिकोट, गोरखा नगरापालिका, शहिद लखन गाउँपालिकामा १०÷१० जना रहेका छन् । गत वर्ष ११९ जना क्षयरोगी भेटिएका थिए । यो वर्ष केही घटेको देखिएको छ ।
क्षयरोगका उपचार पद्धती छोटो हुन्छ ।

उक्त रोग सम्बन्धी लक्षण देखिएपछि स्वास्थ्य सस्थामा गएर उपचार सुरु गरिहाल्नुपर्छ । जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य उपचार केन्द्र, स्वास्थ्य चौकी एवं इकाइहरुमा पनि उक्त सेवा उपलब्ध छ । ‘यसको उपचार पद्धती निकै छोटो छ । औषधी खाएको ६ महिनामै क्षयरोग निको हुन्छ,’ स्वास्थ्य कार्यालय निमिक्त प्रमुख नरजंग ठकुरीले भने,’ ६÷६ महिनामा बिरामी उपचार पुरा गरी निको हुने भएकाले तथ्याङ्क घटबड भइरहन्छ ।’

अशिक्षा, गरिबी, समयमै उपचार गर्नुपर्छ भन्ने चेतनाको अभाव, समाजसँगको डर लगायतका कारणले अझै पनि धेरै बिरामीहरु स्वास्थ्यकर्मीको सम्र्पकमा आउन हिचकिचाउने गर्छन ।

‘यो सर्ने रोग हो, श्वासप्रश्वास र थुकका छिटाहरु लगायत व्यक्तिगत संसर्गबाट सर्न सक्छ,’ उनले भने,‘तर औषधी खान सुरु गरेपछि यसको अर्कालाई सार्न सक्ने क्षमता नष्ट हुँदै जान्छ ।’ त्यसकारण बिरामीलाई अलगै राख्नुपर्ने बाध्यता पनि नरहेको उनले बताए ।

तर बिरामी र परिवारका अन्य सदस्यले पनि उचित सावधानी भने अपनाउनु आवश्यक छ । नेपाल सरकारले सन २०५० सम्म क्षयरोग निर्मुल पार्ने लक्ष्यका साथ काम गरिरहेको सरोकारवालाहरु बताउँछन् । हरेक बर्षको मार्च २४ का दिन अन्तराष्टिूय क्षयरोग दिवस मनाइन्छ । शुक्रबार विश्व सहित नेपालमा पनि यो दिवस मनाइएको छ ।

दिवशका अबसरमा स्वास्थ्यका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गर्नेछन् । सरकारले औषधि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले निको हुने गर्दछ । औषधी प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० रहेका छन् ।

यो सङ्ख्या जनसङ्ख्याको हिसाबले नेपालमा अत्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको छ । यो रोग न्यूनीकरणका लागि सरकारी तथा गैरसकारी क्षेत्रबाट बिभिन्न कार्यक्रम गर्नु जरुरी छ । यसमा नागरिक समाजको भूमिका पनि हुन आवश्यक छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार