काठमाडौँ । वैदेशिक रोजगारीका लागि यसअघि प्रदान गरिदै आएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई बर्षे श्रम स्वीकृतीको प्रावधान हटाएको हो ।
सो प्रावधान हटाउदै मन्त्रालयले वैदेशिक रोजगारीमा जानेले अब अधिकतम पाँच वर्षको श्रम स्वीकृति दिने भएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए ।
खाडीका देश र मलेसिया लगायतका देशमा जानेहरूलाई दुई वर्षका लागि प्रदान गर्दै आएको श्रम स्वीकृतिको प्रावधान हटाएर करार अवधिको आधारमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरएिको उनले बताए ।
सरकारको यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले करार अवधिको आधारमा श्रम स्वीकृति लिन सक्नेछन् । तर करार अवधिको आधारमा श्रम स्वीकृति दिँदा पनि अधिकतम पाँच वर्षको मात्र पाइने छ ।
श्रम स्वीकृतिको अवधि बढ्दा वैदेशिक रोजगार कल्याणकारी कोषमा तिर्नु पर्ने रकम पनि बढ्ने छ भने बिमा पनि त्यही अनुसारको गर्नु पर्छ ।