काठमाडौँ । आगामी चैत १७ गतेदेखि सञ्चालन हुने एसईई परिक्षाको सम्पूर्ण तयारी सकिएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । देशभर २ हजार ३७ परिक्षा केन्द्र तोकेर परिक्षा लिने तयारी गरिरहेको कार्यालयले सम्पूर्ण तयारीको काम सकिएको जनाएको हो ।
यो बर्ष ५ लाख १६ हजार ५ सय ९५ जनाले परिक्षाका लागि रष्ट्रिेशन फारम भरेको कार्यालयकी सूचना अधिकारी देवी पराजुलीले सिभिलखबरसंग बताइन् । उनका अनुसार हाल ७७ वटै जिल्लामा परिक्षा केन्द्र तोक्ने, सबै जिल्लामा प्रश्नपत्र पु¥याउने, परिक्षा केन्द्रमा खटिने कर्मचारी तथा शिक्षक शिक्षिकाको विवरण संकलन गर्ने काम सकिएको छ ।
देशैभरका जिल्ला प्रहरी कार्यालयमा सबै विषयका प्रश्नपत्र पुगिसकेको पराजुलीले बताइन् । सुरक्षा संवेदनालाई ध्यानमा राखेर प्रश्नपत्र प्रहरी कार्यालयमा राखिएको उनको भनाई छ ।
कार्यालयले सबै जिल्लामा प्रश्नपत्र पु¥याइएको जनाएपनि उपत्यकाका ३ जिल्लामा भने प्रश्नपत्र अहिलेसम्म पठाएको छैन । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर सुगम र नजिक समेत भएकाले परिक्षाको अघिल्लो दिन मात्रै प्रश्नपत्र पठाउने तयारी कार्यालयको छ ।
त्यस्तै परिक्षालाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि परिक्षा नियन्त्रक कार्यालय गम्भिर रहेको समेत उनले बताइन । जसका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले आवश्यक शान्ति सुरक्षा परीक्षा सञ्चालन व्यवस्थापन अनुगमन गर्ने काम गर्नेछ ।
त्यस्तै सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रालय सचिवको अध्यक्षतामा पाँच सदस्यीय प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले प्रदेश भित्रको परीक्षालाई स्वच्छ, मर्यादित, व्यवस्थित ढंगबाट समन्वय गर्ने काम गर्नेछ ।
सबै शिक्षा विकास निर्देशनालयले शिक्षा विकास तथा समन्वय इकाई र पालिकासँग समन्वय गरेर परीक्षाको मर्यादालाई कायम राख्न पहल गर्न अनुरोध गरिसकेको कार्यालयले जनाएको छ ।
यो बर्ष छात्र परिक्षार्थीको संख्या बढी
हरेक बर्षको परिक्षामा छात्रभन्दा छात्रा बिार्थीको संख्या बढी हुने गरेकोमा यो बर्ष भने छात्रको संख्या बढी रहेको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।
यो बर्ष ५ लाख १६ हजार ५९५ परिक्षार्थीमध्ये २ लाख ६० हजार ६७४ जना छात्र र २ लाख ५५ लाख ९१७ जना छात्रा रहेको परिक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले सिभिलखबरसंग बताए । तथ्यांक अनुसार यो बर्ष छात्राको दाँजोमा ४ हजार ७ सय ५७ जना बढी छात्रले एसईईको परिक्षा दिने तयारी गरिरहेका छन् ।
अघिल्लो बर्ष पाँच लाख १४ हजार नौ सय ७७ विद्यार्थी परिक्षामा सहभागी भएकोमा दुई लाख ५७ हजार नौ सय २४ छात्रा थिए भने दुई लाख ५७ हजार ५३ जना छात्र परिक्षार्थी थिए । जसमा छात्रभन्दा ८७१ जना बढी छात्राले परिक्षामा सहभागीता जनाएका थिए ।
दृष्टिविहिन विधार्थीलाई होमसेन्टरको ब्यवस्था
यस बर्षको एसईई परिक्षामा दृष्टिबिहिन परीक्षार्थीलाई ‘होमसेन्टर’ को ब्यवस्था गरिएको छ । दृष्टिविहिन विधार्थीको सहजतालाई ध्यानमा राखेर आफु पढेकै विधालयबाट परिक्षा दिने ब्यवस्था मिलाइएको सूचना अधिकारी देवी पराजुलीले बताइन् ।
उनका अनुसार दृष्टिविहीन परीक्षार्थीको लागि स्रोत कक्षा सञ्चालन भइरहेको विद्यालयमा नै उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गरिनेछ ।
यस वर्ष देशभरबाट ५४ जना दृष्टिविहीन परीक्षार्थी परिक्षामा सहभागी हुदैछन । जसका लागि उनीहरु नै अध्ययनरत २१ विधालयबाट परिक्षा दिने ब्यवस्था मिलाइएको कार्यालयको भनाइ छ ।