• शनिबार, साउन ९ २०८३

विदेशमा रहेका नेपाली श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा जोडियो


बुधबार, चैत्र ८ २०७९
1K
Shares

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सरकारले सामाजिक सुरक्षा योजनामा जोडेको छ । सो योजनाको आज बुधबार एक कार्यक्रमकावीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको विशेष कार्यक्रमकावीच प्रधानमन्त्री दाहालले उक्त योजनाको शुभारम्भ गरेका हुन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि कोषमा आबद्ध गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ अनुसार उनिहरुलाई सो योजनामा जोडएको बताइएको छ ।

उक्त योजना लागू गर्न श्रम मन्त्रालयलेले गत मंसिर २५ गते कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधिको परिच्छेद ३ (५) बमोजिम वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि कोषले तीन प्रकारका योजना अघि सारेको छ ।

जसमा दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रिम परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना रहेका छन् ।

कार्यक्रममा सहभागी हुन वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम योगदान गर्नुपर्ने हुन्छ ।

सरकारले औद्योगिक क्षेत्रको कामदारको न्यूनतम आधारभूत पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । यसर्थ, कोषमा जोडिन चाहने वैदेशिक रोजगारीमा रहेका श्रमिकले १५ हजारको २१ दशमलव ३३ प्रतिशत बराबर हुन आउने रकम मासिक रूपमा योगदान गर्नुपर्ने हुन्छ ।

मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि ७ दशमलव ४८ प्रतिशत रकम विनियोजन गरिनेछ ।

वृद्ध अवस्था सुरक्षा योजनामा १३ दशमलव २५ प्रतिशत रकम विनियोजन गरिएको छ । कोषमा आबद्ध हुने योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना सुविधा प्राप्त गर्नेछन् ।

श्रमिकहरु कोषमा आबद्ध हुने कसरी ?

वैदेशिक रोजगारीमा रहेका श्रमिक वा स्वरोजगारमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिँदा श्रमिकको नेपाली नागरिकता वा राहदानी र श्रम स्वीकृतिको प्रतिलिपिलगायत तोकिएका विवरण पेस गर्नुपर्नेछ ।

तर, श्रम स्वीकृति आवश्यक नपर्ने मुलुकमा रोजगारीमा रहेको वा रोजगारीका लागि जाने श्रमिकले आफूले विदेशको कुन स्थान र कम्पनीमा श्रम गर्ने हो सोको विवरण, स्वघोषणा र कम्पनीको नियुक्तिपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्ने हुन्छ ।

विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले भने नेपाली नागरिकता वा राहदानी र भिसाको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । भिसा आवश्यक नपर्ने मुलुकमा स्वरोजगारमा रहेको भए नेपाली नागरिकता वा राहदानीको प्रमाणित प्रतिलिपि पेस गरे पुग्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार