सुदिप श्रेष्ठ
गोरखा। कुनै बेला विद्यार्थीहरुले भरिभराउ हुने जिल्लाका सामुदायिक विद्यालयहरु पछिल्लो समय सुनशान बन्दै गइरहेका छन् । सामुदायिक विद्यालय प्रति आर्कषण घट्दो देखिन्छ । चालु शैक्षिक सत्रमा जिल्लाका करीब ८० प्रतिशत विद्यालयमा जम्मा एक सय भन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् ।
शिक्षा बिकास तथा समन्वय इकाई गोरखाको तथ्याङ्क अनुसार जिल्लाका तीन सय ५७ सामुदायिक विद्यालयमा एक सय भन्दा कम विद्यार्थी छन् । कुल चार सय ४७ विद्यालय मध्ये पूर्व प्राथमिक देखि आधारभूत सम्मका गरी ३५७ सामुदायिक विद्यालयमा एक सय भन्दा कम विद्यार्थीहरु रहेका छन् । कुनै विद्यालयमा जम्मा ५ जना पनि विद्यार्थी छन् ।
शिक्षा बिकास तथा समन्वय इकाई गोरखाका प्रमुख सुबास आचार्यका अनुसार एउटा कक्षामा कम्तिमा ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान छ ।तर विभिन्न प्राविधिक समस्याले गर्दा २२/२३ जना विद्यार्थी भएको विद्यालय पनि सञ्चालन गर्न दिएको देखिन्छ । पूर्व प्राथमिक देखि कक्षा ५ सम्म कम्तिमा पनि एक सय ४० जना हुनुपर्ने भएपनि अहिले जिल्लाको धेरै सामुदायिक विद्यालयमा मापदण्ड अनुसारको संख्या छैन् ।
गोरखा नगरपालिकाका ७० मध्ये ४६ सामुदायिक विद्यालयमा एक सय भन्दा कम विद्यार्थी छन् । त्यस्तै पालुङ्टार नगरपालिकाका ५१ सामुदायिक विद्यालय मध्ये ३८, शहिद लखनका ४८ मध्ये ४४, सिरानचोकका ४७ मध्ये ४३ वटामा सामुदायिक विद्यालयमा एक सय भन्दा कम विद्यार्थी रहेका छन् ।
यसैगरी गण्डकी गाँउपालिकाका ४३ सामुदायिक विद्यालय मध्ये ४०, आरुघाटका ३९ मध्ये ३१, बारपाक सुलिकोटका ३९ मध्ये ३०, भीमसेन थापाका ३४ मध्ये २७, अजिरकोटका २९ मध्ये २६, धार्चेका २६ मध्ये १४, चुमनुब्रीका २१ मध्ये १८ विद्यालयमा एक सय भन्दा कम विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ ।
धेरै विद्यार्थी र अभिभाबकहरु नीजि विद्यालय तर्फ आर्कषित भएको देखिन्छ । सामुदायिक विद्यालयमा अभिभाकको बिश्वास कम भएकाले विद्यार्थीको संख्या घट्दै गएको सरोकारवालाहरुको गुनासो छ ।
विद्यार्थी मैत्री वातावरण र गुणस्तरीय शिक्षा प्रदान गर्न सामाजिक विद्यालय लागि परेकाले अब बिस्तारै विद्यार्थीको संख्या बढ्ने विश्वास लिइएको छ । ‘यस अघि विद्यालयहरु बालमैत्री नहुँदा विद्यार्थीहरुको आर्कषण बढ्न सकेको थिएन्,’ उनले भने, ‘विद्यार्थीको संख्या बढाउन बालमैत्री कक्षा सञ्चालन हुन आवश्यक छ ।’
त्यसका लागी बालबालिकालाई उपयुक्त भौतिक पुर्वाधार, खेलकुद लगाएतका ब्यवस्था हुनु पनि आबश्यक रहेको उनको भनाई छ ।
‘पछिल्लो समय अधिकांश विद्यार्थीहरुको आर्कषण संस्थागत विद्यालय तर्फ हुन थालेको छ,’ उनले भने, ‘अहिले सामुदायिक विद्यालय साधन स्रोत सम्पन्न छन्, योग्य शिक्षक छन्, संस्थागत विद्यालयमा जस्तो वातावरण सृजना गर्न सकेमा यहाँ विद्यार्थी संख्या बढ्न सक्छ ।’ सामुदायिक विद्यालयले संस्थागत विद्यालयमा भन्दा राम्रो नतिजा ल्याउन सके १÷२ वर्षमै विद्यार्थी बढ्ने उनको बिश्वास छ ।
नेपालको संविधानले विद्यालय स्तरको शिक्षालाई निशुल्क भनेको छ । तर अभिभावकले सामुदायिक विद्यालयलाई विश्वास नगर्दा हजारौं रुपैयाँ खर्चेर नीजि विद्यालयमा छोराछारी पढ्न पठाउँछन् । विडम्वना सामुदायिक विद्यालयका शिक्षक, अभिभावक समितिका अध्यक्ष एवं पदाधिकारी, निजामती कर्मचारीका छोराछोरी सबै नीजि विद्यालयमा पढ्ने गरेको देखिन्छ ।
शुल्क तिर्न असमर्थ गरिब तथा विपन्न समुदायका व्यक्तिले मात्र सामुदायिक विद्यालयमा छोराछोरी पढाएका छन् । यस्ता अभिभावकाले विद्यालयलाई आवश्यक समय नदिदाँ पनि समस्या भएको सरोकारवालाहरुको गुनासो छ ।