काठमाडौँ । अस्थिर राजनीतिको असर अध्ययन क्षेत्रमा स्पष्ट रुपमा देखिएको छ । मुलुकमा अस्थित राजनीतिकले पढ्ने वातावरण धमिल्याइदिएकाले विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका नाममा विदेश पलायन भइरहेका छन् ।
पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि जानेको सङ्ख्या ह्वात्तै बरिढहेको छ । नेपालबाट अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, क्यानडा, दुबई, न्यूजरल्याण्डलगायतका मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुको सङ्ख्या हरेक वर्ष बढ्दै गएको हो ।
शैक्षिक अभियन्ता शुभेन्द्रमान श्रेष्ठ नेपालमा राजनीतिक अस्थिरताको असर शैक्षिक क्षेत्रमा समेत देखिएकाले विद्यार्थीहरु विदेशमा अध्ययनसँगै अवसरको खोजीमा लाग्न बाध्य भएको बताउँछन् ।
‘हरेक क्षेत्रमा समस्या मात्रै देखिन्छन्, यसको मुल कारण राजनीतिक अस्थितरता नै हो’, उनले सिभिलखबरसँगको कुराकानीमा भने, ‘यसको असर अबको केही वर्षपछि भयावह रुपमा देखिन सक्छ, यसमा सरकारले बेलैमा सोच्न जरुरी छ ।’
वैदेशिक शिक्षा अध्ययनमा जानका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाबाट अनिवार्य वैदेशिक अध्ययन अनुमति पत्र लिनुपर्ने हुन्छ ।
अनलाइन प्रणालीबाट कागजात पेश गरेपछि शाखाले त्यसलाई प्रमाणित गरेर वैदेशिक अध्ययन अनुमतिपत्र दिने गर्दछ । एनओसी शाखाका अनुसार हरेक वर्ष होइन हरेक महिना वैदेशिक अध्ययनका नाममा विद्यार्थीहरु पलायन हुनेको सङ्ख्या बढ्दैछ । शाखाले दिएको अनुमतिपत्रको पछिल्लो ३ महिने तथ्याङ्कले समेत त्यही प्रमाणित गर्छ ।
पछिल्लो ३ महिनामा विदेश अध्ययनका लागि २९ हजार ४ सय १४ जना नेपाली विद्यार्थीले अनुमति लिएको एनओसी शाखाले जनाएको छ ।
गत पुसमा ७ हजार ८५१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिँदा त्यसको २ महिनापछिको तथ्याङ्क दोब्बरमा परिणत भएको छ । फागुनमा सो अनुमति पत्र १३ हजार ९४५ पुगेको एनओसी शाखा प्रमुख वासुदेव वस्ती बताउँछन् । माघमा भने ७ हजार ६१८ ले लिएका थिए ।
कुन देशका लागि कतिले लिए ‘एनओसी लेटर’
पछिल्लो ३ महिनाको तथाङ्क हेर्दा नेपाली विद्यार्थीले सबैभन्दा बढी अष्ट्रेलियाका लागि अनुमतिपत्र लिएका छन् । जसमा १० हजार ४ सय ३१ जनाले अष्ट्रेलियाका लागि मात्रै अध्ययन अनुमति लिएको एनओसी शाखा प्रमुख वस्तीले सिभिलखबरलाई बताए ।
अष्ट्रेलियाका लागि पुसमा ४ हजार ३०४, माघमा ३ हजार ५१७ र फागुनमा २ हजार ६१० जनाले एनओसी पत्र लिएका हुन् ।
त्यस्तै दोस्रोमा जापान विधार्थीहरुको छनोटमा परेको छ । जापानका लागि पछिल्लो ३ महिनामा ८ हजार २९३ जनाले अध्ययन अनुमतिपत्र लिएको प्रमुख वस्ती बताउँछन् । जापानका लागि पुसमा ४४, माघमा १५८ र फागुनमा त्यो सङ्ख्या बढेर अत्याधिक ८ हजार ०९१ जना पुगेको तथ्याङ्क बताउँछ ।
त्यसैगरी तेस्रोमा क्यानडाका लागि ५ हजार ५१२ जनाले अनुमति लिएका छन् । जसमा पुसमा १ हजार ६०४, माघमा २ हजार २४८ र फागुनमा १ हजार ६६० जना रहेको शाखाको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी तीन महिनामा बेलायतका लागि १ हजार १४०, दुबईका लागि ४५९, अमेरिकाका लागि ३८५ जनाले अनुमतिपत्र लिएका छन् ।
नेपालबाट चीन, भारत, बहराइन, डेनमार्क, जर्मनी, मलेसिया, कारिया, कतारलगायतका देशमा समेत अध्ययनका लागि विद्यार्थीहरु जाने गरेका छन् । ती देशहरुमा भने अन्य देशको तुलनामा केही कम सङ्ख्या रहेको शाखा प्रमुख वस्तीले बताए ।