• मंगलबार, साउन १९ २०८३

तेस्रो लिगलिगे साइकल दौडको उपाधी सेनाका टमाटालाई


आइतबार, चैत्र ५ २०७९
860
Shares

गोरखा । गोरखाको पालुङटारमा भएको तेस्रो लिगलिगे साइकल दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका हिमाल टमाटाले हात पारेका छन् । ‘मेन इलिट’ तर्फको ५३ किलोमिटर निर्धारित दुरी २ घण्टा २४ मिनेट २७ सेकेण्डमा पार गर्दै उनले उपाधी जितेका हुन् । उनले ७५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

उनी यसअघिका दुईवटा प्रतियोगीतामा पनि सहभागी थिए । पहिलो प्रतियोगीतामा दोस्रो र दोस्रो प्रतियोगीतामा चौथो बनेका उनी यसपटक भने उपाधी बिजेता बनेका हुन् । कञ्चनपुर बारा घर भएका टमाटा १३ औ साफ गेममा स्वर्ण पदक बिजेता समेत हुन् ।

निर्धारित दुरी २ घण्टा २४ मिनेट ४१ सेकेण्डमा पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो बनेका छन् । उनलाई ५० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसले जनाएको छ ।

प्रतियोगीतामा काठमाण्डौका कुमार तामाङ तेस्रो बने । उनले निर्धारित दुरी २ घण्टा २४ मिनेट ४६ सेकेण्डमा पार गरेका थिए । उनले ३० हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै शसस्त्र प्रहरीका लक्ष्मण मल्ल चौथो र नेपाली सेनाका मान बहादुर थापा मगर पाँचौ भएका छन् । उनीहरुले क्रमश १५ हजार र ७ हजार पाँच सय नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै ‘मेन मास्टर’ तर्फ हर्क लामा पहिलो बने । उनले निर्धारित दुरी २ घण्टा ३२ मिनेट ४ सेकेण्डमा पार गरेका हुन् । पहिलो बनेका लामाले १५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगीतामा बिकास महर्जन दोस्रो बनेका छन् । निर्धारित दुरी २ घण्टा ४९ मिनेट ५५ सेकेण्डमा पार गरेका उनले दश हजार नगद पुरस्कार पाए ।

निर्धारित दुरी २ घण्टा ५२ मिनेट २१ सेकेण्डमा पार गर्दै देव बहादुर वोहरा तेस्रो बने । उनले ५ हजार नगद पुरस्कार पाएको संजिव रानाले बताए । प्रतियोगीताका बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगीतामा दुई बिदेशी नागरिक सहित कुल ३९ जनाको सहभागीता रहेको थियो ।

लिगलिगकोटबाट सुरु भएको साईकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो बगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, हात्तीगौडा, लुइँटेल, बयाडाँडा हुदै मैबलबाट लिगलिगकोटसम्मको ५३ किलोमिटर रहेको थियो ।

पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगीता गरिएको लिगलिग भिलेज स्पोर्टसकी सचिव प्रमिला रानाले बताइन् । बिजेताहरुलाई गण्डकी प्रदेश सभाका सदस्य एवं प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा पालुङटार नगरप्रमुख बिबस चिन्तन, भानु नगरप्रमुख आनन्दराज त्रिपाठी लगायतको उपस्थिती थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार