काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सशस्त्र प्रहरी बलको बलम्बुस्थित एपीएफ अस्पताल परिसरमा अस्थायी संरचनामा ९२ शय्याको अस्पताल निर्माण गरेको छ ।
डब्लूएचओको आर्थिक र प्राविधिक सहयोगमा निर्मित फिल्ड अस्पताल अस्पताल मंगलबार सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको हो ।
अस्पतालका संरचना पीभीसीबाट निर्मित हुन् । ५ वटा ठूला र २ वटा साना संरचना बलम्बुस्थित एपीएफ अस्पताल परिसरभित्र निर्माण भएका हुन् ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलमार्फत डब्लूएचओका दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले हस्तान्तरण गरेका हुन् । त्यसपछि सचिव पोखरेलले अस्पताल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरेका हुन् ।