सुदिप श्रेष्ठ
गोरखा । गोरखा सदरमुकाममा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
सोमबार दिउसो १ बजे विसौनी मोडमा दुध बोक्ने ट्रक पल्टिदा एक पुरुषको ज्यान गएको हो । घाइते हुनेमा ६ पुरुष र २ महिला गरी आठ जना रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मृतकको पहिचान आफन्तको अनुरोधमा अहिलेसम्म सार्बजनिक नगरिएको गोरखा अस्प्तालका सुचना अधिकारी कृष्ण ढकालले सिभिलखबरलाई बताए ।
त्यस्तै गम्भीर घाइते हुनेहरुमा बर्दिया घर भएका मंगल चौधरी, दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य वैँक गोरखा शाखामा कार्यरत विष्णु खड्का, ठेगाना नखुलेका वुद्धि नेपाली छन् । उनीहरु तीनैजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य घाइतेहरुमा सहिदलखन गाउँपालिका ७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेपेटारकी सावित्री बिक, सहिद लखनकै नारायण भुजेल रहेका छन् । उनीहरुको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रदेश नं ३ को ०१–००३–६१७० नम्बरको ट्रक सडकबाट पल्टिएर जिल्ला ट्राफिक कार्यालयको भवनमा ठोकिएको छ ।
सोहि गाडीले बा ८६ प १७८६ नम्बरको मोटरसाइकलाई समेत ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुई जना समेत घाइते भएका छन् ।
सवारी दुर्घटनाबाट घाइते भएका आठ जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।