काठमाण्डौ। पहिलो पल्ट नेपालमा भएको महिला स्वास्थ्य सम्मेलन सकिएको छ । गत फागुन २५ गते सुरु भएको सम्मेलन दुइ दिन चलेको थियो । सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र अन्य साझेदार निकायहरूको सहकार्यमा भएको हो ।
सम्मेलनको उद्घाटन बिहिबार नेपाल सरकारकी संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् भने समापन सत्रको प्रमुख अतिथीका रूपमा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरनगस्ले गरेका थिए।
सम्मेलनमा महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित मुख्य पाँच विषयवस्तुहरूमा छलफल एवम् प्रस्तुतिहरू भएका थिए।
मुख्य विषयवस्तुहरूमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य, महिलाको मानसिक स्वास्थ्य र पोषणक सम्बन्धी विषय रहेका थिए।
सम्मेलनमा यी विविध महिला स्वास्थ्यका विषयका ८५ कार्यपत्र प्रस्तुत गरिएको थियो भने महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका तीन सय भन्दा बढी प्रतिनिधिहरू एवम् विज्ञ व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौती एवम् अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कहरूको लेखाजोखा गर्नु सम्मेलनको उद्देश्य रहेको थियो।