यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवश मनाएको छ। प्रत्येक अंग्रेजी वर्षको मार्च महिनाको दोस्रो बिहिबार यो दिवस विश्वभर मनाइने गरिन्छ। मिर्गौला रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्ने गरिन्छ। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण समाज नेपालले संयुक्त रुपमा कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाएका छन्।
यस पटकको मिर्गौला दिवसको नारा “अप्रत्याशित रुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउनु” रहेको छ। एन्फा कम्लेक्स सातदोबाटोमा आयोजना गरिएको यस वर्षको विश्व मिर्गौला दिवस कार्यक्रममा मैत्री पूर्ण फूटवल प्रतियोगिता, अंग दान शिविर र मिर्गौला पदयात्रा लगायतका विविध कार्यक्रम गरी मनाइएको छ।
अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ व्यक्ति सरह जीवन यापन गर्न सक्छन र उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने र अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अंग दाता, अंग ग्रहणकार्ता, चिकित्सक, नर्स, कालाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फूटबल खेलको आयोजना गरिएको थियो। अंग प्रत्यारोपित व्यक्तिहरु तथा चिकित्सक, समाजसेवी, कलाकार सहितको टोलीबीच भएको फूटबल प्रतियोगितामा मिर्गौला प्रत्यारोपित टोलिले ४–१ गोल अन्तरले पराजित गरेको थियो।
अंगदान शिविरबाट ५ जनाले आफ्नो मृत्यु पछिको अंगदानका लागि नाम लेखाएको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट तथा तेह्रौं नेपाल प्रत्यारोपण खेलकुदकी संयोजक डा कल्पना श्रेष्ठले जानकारी दिइन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको सह्राना गरे। यस्ता अभियान आगामी दिनमा पनि चलाउनु पर्ने महर्जनले बताए। साथै स्वस्थ जीवनशैली अपनाई समय समयमा आफ्नो स्वास्थ्य जाँच गराउनुपर्ने कुरामा उनको जोड थियो।
कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठसमेत सहभागी थिए। साथै उनले फुटबल खेलेर फुटबल प्रतियोगिताको पनि उद्घाटन गरेका थिए। बरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसमेत सहभागी कार्यक्रममा उविभिन्न अस्पतालका चिकित्सक लगायतको उपस्थिति थियो।