• शनिबार, साउन ९ २०८३

शौचालयको पानी छिर्दा सिभिल अस्पतालको ‘सिटी स्क्यान’ बन्द


बिहिबार, फाल्गुन २५ २०७९
2.2K
Shares

काठमाडौँ ।  सिटी स्क्यान मेसिनमा शौचालयको पानी छिर्दा काठमाडौँको बानेश्वरमा रहेको सिभिल सर्भिस अस्पतालमा दुई हप्तादेखि सिटी स्क्यान सेवा बन्द छ ।

सिटी स्क्यान मेसिनमा शौचालयको पानी छिरेर यूपिएसको पाइप फुटेपछि मेसिन काम नगर्ने अवस्थामा पुगेको अस्पतालले जनाएको छ । अस्पतालका प्रशासकीय अधिकृत कृष्ण सापकोटाले सिभिलखबरलाई भने, ‘यूपिएस पड्कीएर २ हप्ता भयो सिटीको सेवा दिन सकिएको छैन ।’

दुई हप्ता अघिदेखि सेवा बन्द भए पनि मेसिन बनाउनेबारे प्रक्रिया अघि बढ्न सकेको छैन । विदेशी कम्पनीको मेसिन रहेकाले मर्मत गरेर चल्ने वा नयाँ खरिद गर्नुपर्ने भन्ने नै अन्योल रहेको सापकोटा बताउँछन् ।

‘समस्याका बारेमा हामीले कम्पनीमा जानकारी गराइसकेका छौ, विदेशी कम्पनी भएकाले समय लाग्ने भयो’ उनले सिभिलखबरसँग भने ‘नयाँ किन्न २० लाख प्लस रकम लाग्ने रहेछ, के गर्ने अहिले यसै भन्न सक्ने अवस्था छैन ।’

दैनिक २५ जनाको हाराहारीमा सिटीस्क्यान हुदै आएको सिभिल अस्पतालमा दुई हप्तादेखि सेवा बन्द हुँदा विरामी भने मर्कामा परेका छन् । अरु चेकजाँच भए पनि सिटी सेवा नहुँदा विरामी निजीलगायतका अस्पताल धाउनु परेको छ ।

यता अस्पताल भने सिभिलमा आएका विरामीलाई सो सेवाका लागि वीर अस्पतालमा जान सुझाव दिने गरेको दावी गर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार