काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन् ।
सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दैछन् भने सबैभन्दा कम चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा ७१ जना विद्यार्थीले मतदान गर्ने भएका छन् ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले दिएको तथ्याङ्कअनुसार उपत्यकाका २२ वटा क्याम्पसका करिब ७५ हजार विद्यार्थीले मतदान गर्ने भएका छन् ।