• शनिबार, साउन ९ २०८३

जहाँ अभिभावक विद्यालयको गेटमा बसेर विद्यार्थीलाई नमस्कार गर्छन्…


बुधबार, फाल्गुन २४ २०७९
1.2K
Shares

गोरखा । हिमालय मावि बारपाक कक्षा ८ मा पढ्ने अमृता सुनारलाई विद्यालय प्रवेश गर्दैगर्दा गेटमा उभिएका आफ्ना बाबुले नमस्कार गर्छन । उनी पनि नमस्कार फर्काउँदै विद्यालय भित्र प्रवेश गर्छिन । सुरुका एक दुईदिन अमृतालाई बाबुले पहिले नमस्कार गर्दा आफुलाई लाज लागेको थियो तर अहिले सहज भएको छ ।

उनका बाबु विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुन् । उनले छोरीलाई मात्र होईन विद्यालय प्रवेश गर्ने सबै विद्यार्थीलाई हात जोडेर नमस्कार गर्दै भन्छन् ‘गुड मर्निङ बाबु, गुडमर्निङ नानी, सर गुड मर्निङ !

कक्षा ७ मा पढ्ने अजय घले र ६ मा पढ्ने प्रनय घलेलाई आमा लालकुमारी घलेले मंगलवार विद्यालय प्रवेश गर्दै गर्दा नमस्कार गरिन् । छोराहरु आमालाई नमस्कार फर्काउँदै विद्यालय प्रवेश गरे । आमाले नमस्कार गर्दा छोराहरु असजिलो मान्दैनन ? भन्ने जिज्ञासामा घलेले भनिन् ‘खुसी नै हुन्छन्, किन झ्याउ मान्नु ।’

उनी विद्यालय ब्यवस्थापन समिति सदस्य हुन् । विद्यालय खुलेको दिन गेटमा बसेर प्रवेश गर्ने विद्यार्थीलाई नमस्कार गर्दै गुड मर्निङ भन्ने आलोपालो हुन्छ । समितिका अध्यक्ष देखि सदस्यहरु पाँच जना पालैसँग खटिन्छन् । ‘आफ्नो छोराछोरी पढ्ने विद्यालयमा आउन पाउनु, उनीहरुको सेवा गर्न पाउनु खुसीको कुरा हो’ सदस्य लालकुमारी घलेले भनिन् ।

बाल कक्षादेखि १२ सम्म संचालित यस विद्यालयमा चार सय ८७ विद्यार्थी छन् । गत माघ २८ गते गठन भएको नयाँ ब्यवस्थापन समितिले यो अभियान सुरु गरेको हो । ‘शिक्षक, विद्यार्थी बिच समबन्ध सुमधुर होस्, विद्यार्थीले गुरुको सम्मान गर्न सिकुन् भनेर हामीले यो सुरु गरेका हौँ’ ब्यवस्थाप समितिका अध्यक्ष बिकले भने । गुरुहरु, आफुभन्दा ठुला, साना सबैले एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना हराउँदै गएकाले सिकाईकालागि नयाँ समितिले गेटमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरेको उनले बताए ।

अहिले विद्यार्थी आफैँ टाढैबाट गुड मर्निङ भन्दै दुई हात जोडेर नमस्कार गर्दै विद्यालय प्रवेश गर्छन । विद्यालयमा विद्यार्थी पोशाकमा आए नआएको, कुन विद्यार्थीले विद्यालय छाडेको, नियमित हाँजिर भए नभएको बारेमा गेटमा बस्ने अविभाबकलेपनि ख्याल गर्छन ।

गेटमा अविभाबक छन् भनेपछि विद्यार्थीपनि समयमै विद्यालय आउने, विद्यालय पोशाक लगाउने गर्छन । ‘यो संस्कार सिकाउने एउटा अभियान हो, हामीले विद्यालयको शैक्षिक गुणस्तरसँगै विद्यार्थीमा अनुशासन सिकाउन नयाँ योजना बनाउँदै जाने सोच बनाएका छौँ’ ब्यवस्थापन समितिका अध्यक्ष बिकले भने ।

२०७२ सालको भुकम्पले ध्वस्त विद्यालय अहिले पक्की भबनमा चिटिक्क छ । बाक्लो बस्ती भएको बारपाक सुलिकोट १ र २ वडाका अधिकासं बालवालिका यहाँ पढ्छन् । अविभाबकले गेटमा उभिएर नमस्कार सुरु गरेयता विद्यार्थी बिहान १० बजे अगाडी नै आउने गरेको प्रधानाध्यापक जनिबहादुर घलेले बताए ।

‘विद्यार्थी मात्र होईन शिक्षकपनि समयमै आउन थाल्नुभएको छ, समयमै नआउने शिक्षकलाई दुई सय जरिवाना र पोशाक नलगाउने शिक्षकलाई पाँच सय जरिवाना गर्ने निर्णय गरेका छौँ’ उनले भने । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई अनुशासन पालना गराउन केही जरिवाना गर्ने योजना बनाएको उनले बताए । ‘गेटमा अविभाबक उभिएर नमस्कार गर्न थालेपछि केही न केही बालवालिकामा अनुशासन कायम हुँदै गएको देखिएको छ’ प्रअ घलेले भने ‘अनुशासन भित्र रहनुपर्छ भन्ने ज्ञान उनीहरुलाई मिलेको छ ।’

कक्षा १० पछि भने विद्यार्थी भर्नाहुने दर कम छ । गत शैक्षिक सत्रमा ८३ जनाले कक्षा १० पास गरेका थिए । ति मध्ये ३३ जना मात्रै भर्ना भए भने बाँकी अन्यत्रका विद्यालय पढ्न गए । मावि तहमा दरबन्दी अपुग रहेको प्रअ घलेले बताए । अहिले विद्यालयमा २४ जना शिक्षक कार्यरत छन् । ‘आधुनिक प्रविधि अनुसार पढाउने ब्यवस्था र दरबन्दी अनुसार शिक्षक भयो भने सहज हुने थियो’ उनले भने ।

विद्यालयको गुणस्तर बढाउन शिक्षक र ब्यवस्थापन समिति टोलटोलमा घरभेट गर्ने, अविभाबकको बैठक विद्यालयमा राख्ने र बालवालिकाको अवस्था बारे बताउने, गृहकार्य अनिवाय गराउने, मासिक विद्यालयमा परीक्षा संचालन गर्ने योजना रहेको प्रधानाध्यापक जनिबहादुर घलेले बताए । उनले भने ‘अहिलेको नयाँ समितिले शिक्षक, अविभाबकमा पनि उत्साह थपेको छ ।’

दरौंदी दैनिकबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार