This image shows the Embassy of Nepal in Riyadh, the capital city of Saudi Arabia, in December 2017. Photo courtesy: Ammar Waris
साउदी अरबमा कार्यरत नेपालीलाई हुरुब लागेको वा ईकामा नबनाइदिएको भएमा तत्काल दूतावासको वेभसाइटमा विवरण भर्न नेपाली दूतावासले अनुरोध गरेको छ ।
इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको छ तर कम्पनी वा कफिलले इकामा नवीकरण गरिदिएको छैन भने दूतावासमा नाम टिपाउन भनिएको हो ।
यस्तै हुरुब लागेको छ वा कम्पनीले तपाईँमाथि जरिवाना लगाएको छ वा कुनै मुद्दा वा जरिवाना लागेको छ भने पनि दूतावासमा आफ्नो विवरण टिपाउन सकिन्छ ।
यस्तो अवस्थामा भएका नेपालीहरूको विवरण साउदीमा रहेको नेपाली दूतावासले सङ्कलन गरिरहेको छ । आफूलाई भएको समस्यासहित साँचो विवरण टिपाउन दूतावासले अनुरोध गरेको छ ।
त्यस्तो समस्या भएका व्यक्तिले दूतावासको वेबसाइट https://sa.nepalembassy.gov.np/registration-form मा आफ्नो विवरण भर्न सकिन्छ ।
पछिल्लो समय दूतावासको अनुरोधमा साउदी अरबको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा (एक्जिट भिसा) उपलब्ध गराउँदै आएको छ ।
अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।