गोरखा । गोरखामा लकडाउन केही खुकुलो हुने भएको छ । जेठ १ गतेदेखि ५ दिन जिल्ला सिल गरिएको गोरखामा सोमबार बसेको सर्वपक्षिय बैठकले मंगलबारदेखि भने केहि खुकुलो बनाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गाेरखामा बसेको बैठकले जिल्लाभित्रका बैंकहरुलाई हप्तामा दुई दिन सञ्चालनको अनुमती दिएको छ । अब मंगलबार र शुक्रबार बैंक तथा वित्तिय संस्था खुल्ने छन् ।
सम्बन्धित स्थानीय तह र सुरक्षा निकायको समन्वयमा बिहान १० बजे देखि दिउसो ४ बजेसम्म बैंक सञ्चालनमा आउने र बैंकहरुले सामाजिक दुरी कायम गरी टोकन प्रणालीमा सेवा दिनु पर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिए ।
त्यस्तै यस अघि ठप्प पारिएको ढुवानी सेवालाई सञ्चालन गर्न दिने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म खाद्यन्न, तरकारी, पशुपन्छिका दाना, कृषि सामग्री, मल वीउवीजन ढुवानी गर्न दिने बताइएको छ ।
अत्यावश्यक र वर्खाले क्षति पु¥याउन सक्ने बिकास निर्माणका योजनाहरुमा निर्माण सामाग्री ढुवानीका लागि पनि सोही प्राबधान तोकिएको रोकाले बताए ।
पशुजन्य सामाग्री ढुवानीका लागि भने हरेक दिउँसो ३ बजे देखि ६ बजेसम्मको समयसिमा निर्धारण गरिएको छ । सम्बन्धित स्थानीय तह र भेटनेरी अस्पताल तथा पशु विज्ञसेवा केन्द्रका सिफारिसका आधारमा आवश्यक कागजात सहित यस्ता सवारी साधनलाई पनि सञ्चालनको अनुमती प्रदान गर्ने निर्णय भएको छ ।
मल बिऊ र कृषि उत्पादन ढुवानीका लागि दिउँसो ३ बजे देखि भोलिपल्ट बिहान ६ बजेसम्मको लागि समय छुट्याएको छ । त्यसको लागि पनि सम्बन्धि पालिका र कृषि ज्ञानकेन्द्रको सिफारिस अनिर्वाय गरिएको छ । तर सवारी साधनमा तुल ब्यानर राखी १ जना चालक र १ सहचालक बाहेक अन्य राख्न नपाउने व्यवस्था गरिएको छ ।
त्यस्तै बैठकले गोरखा प्रवेशद्धारमा भइरहेको चेकजाँचलाई भने यथावत राख्ने निर्णय गरेको छ । यसैगरी अन्यत्र जिल्ला तथा विदेशबाट अनाधिकृत रुपमा जिल्ला प्रवेश गर्नेहरुलाई नियन्त्रणमा लिइ १४ दिनसम्म सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राख्ने समेत निर्णय भएको छ ।