काठमाडौँ । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनताको भावना बुझेर काम गर्ने गर्ने तयारी गर्दै गर्दा मन्त्री पदबाट राजिनामा दिनु परेको परेको बताएका छन् ।
मंगलबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै गिरीले समस्या अध्ययन सकेर योजना निर्माण गर्दै गर्दा आफुले पदबाट राजिनामा दिनुपरेको बताएका हुन् ।
४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने बिदा लिनु परेको उनको गुनासो थियो ।
‘४२ दिनको अवधिमा मैले देशभरको स्वास्थ्य क्षेत्रको अध्ययन गरे, सम्बन्धित पक्षहरुसँग अन्तर्क्रिया गरेँ, कहाँ के समस्या छन्, बुझे, हेरे’ निवर्तमान मन्त्री गिरीले भने अब ति तमाम समस्या हल गर्न योजना निर्माण गर्ने क्रम चल्दैथियो अकस्मात राजिनामा दिनु पर्यो’
उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु छन भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत टिप्पणी गरे । निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको बताए । त्यसका लागि बीमितलाई दिने सेवाको रकम १ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउनुपर्ने उनको सुझाव छ ।
उनले स्वास्थ्य सामग्रीहरुको दुरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।