काठमाडौँ । बैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारको संख्यामा ५० प्रतिशतले कमि आएको छ । फिफा वल्र्डकप सकिएसंगै कतार जाने नेपाली कामदारको संख्यामा कमि आएको हो ।
विगतको तुलनामा अहिले कतारका लागि श्रम स्वीकृति लिनेको संख्या ५० प्रतिशतले घटेको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । कार्यालयको कतार शाखा प्रमुख सुर्य रेग्मीले विगतको तुलनामा अहिले श्रम स्वीकृति लिनेको संख्या ७० प्रतिशतले कमी आएको बताए ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत साउनमा ४ हजार ९६९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै भदौंमा ४ हजार ९८४ जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका थिए भने असोजमा ४ हजार ५८६, कात्तिकमा ४ हजार ३१३ जनाले श्रम स्वीकृति लिएका थिए ।
त्यसपछिबाट भने श्रम स्वीकृति लिनेको संख्या आधाले घटेको देखिन्छ । मंसिरमा २ हजार ६६५ जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका थिए । त्यस्तै पुसमा २ हजार ५०६ र माघमा २ हजार ८२९ जनाले श्रम स्वीकृति लिएका थिए ।