काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।
भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेता डा भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए।
शुक्रबारबाट ठोस खाना खान सुरु गरेका डा भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गर्नुभएको मीनप्रसादले बताए। उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।
गत फागुन ३ गते राति आफ्नो निवास बुद्धनगरमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो ।