काठमाडौँ । सरकारले बनाएको नागरिक एप ट्राफिकले किन चिन्दैन भन्दै साँसद असिम शाहले सँसद बैठकमा प्रश्न गरेका छन् । बुधबार भएको बैठकको शुन्य समयमा बोल्दै साँसद शाहले सरकारले बनाएको नागरिक एपमा ब्यक्तिगत सबै सरकारी कागजात हुने तर ट्राफिकदेखि प्रशासनसम्मले त्यसलाई नचिन्नु चिन्ताको बिषय बनेको बताएका हुन् ।
डेढ करोड नेपाली मोबाइल इन्टरनेट प्रणालीको पहुँचमा जोडिएको बताउदै शाहले सरकार बनाएको आधिकारिक एपलाई सरकारकै अर्को निकायले नचिन्नु विडम्बना भएको तर्क गरेका हुन् ।
नागरिक एपमा ब्यक्तिका सरकारी कागजात आधिकारिक रुपमा सरकारले नै राखेको र स्पष्ट रुपमा हेर्न सकिने हुदा त्यसलाई प्रभावकारी कार्यान्वयन उनले जोड दिए ।
‘सबै सरकारी सेवा एउटै एपबाट लिन सकिन्छ, चाहे त्यो पुलिस रिपोर्ट होस या, बैंकको खाता खोल्न’ साँसद शाहले भने ‘त्यै एपमा भएको अर्को सेक्सनबाट लाइसेन्सको सफ्टकपी र सवारीको ट्याक्सको सब विवरण त्याह हेर्न मिल्छ तर बिडम्बना सरकारको एउटा निकायले बनाएको यो एपलाई अर्को सरकारी निकायले किन चिन्दैन ?’
एकातिर सरकारले लाइसेन्स प्रिन्ट गर्न ढिलाई गर्दा नागरिकलाई सास्ती भइरहेको र अर्को तिर लाइसेन्सका छपाईका नाममा अर्बौ रकम लगानी भइरहेकाले नागरिक एपलाई प्रभावकारी सदुपयोग गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ।
भौतिक रुपमा लाइसेन्स र ब्लुबुक बोक्ने प्रथाको अन्त्य गरी अन्त्रसरकारी समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा समेत उनको जोड छ । शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट साँसद बनेका हुन् ।