राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरीय हुनेमा विश्वास व्यक्त गरिन् ।
अस्पतालको तीन तले नवनिर्मित भवनको आज मङ्गलवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रतिष्ठानले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा विश्वास व्यक्त गरेकी हुन् । आम नागरिकलाई सर्वसुलभ ढङ्गले सेवा दिन यस प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।
जननेता मदन भण्डारीको नामबाट स्थापित यस अस्पतालले स्वास्थ्य सेवामा राम्रो काम गरेको राष्ट्रपति भण्डारीले बताइन् । उनले जनस्वास्थ्य कार्यक्रमलाई नागरिकको घरदैलोसम्म पुर्याउन पनि आग्रह गरिन् ।
नेपाली सेनाको हेलिकप्टरबाट आज मङ्गलवार हेटौँडा आइपुगेकी भण्डारीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको सङ्घीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको तीन तले भवनको उद्घाटन गरेकी हुन् ।
अस्पतालले नयाँ भवनबाट जनशक्ति थप गरेर उपचार सेवालाई प्रभावकारीरूपमा अगाडि बढाएको छ । पहिले रिफर अस्पतालको रूपमा परिचित हेटौँडा अस्पतालमा अहिले धेरै खालका बिरामीको उपचारसँगै विभिन्न रोगको नियमित अप्रेशन गरिँदै आएको छ ।