काठमाडौँ । युवालाई सरकारी जागिरमा आकर्षित गर्न गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँमै लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको छ । युवालाई विदेशिनबाट रोक्नका लागि गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गरेको हो ।
लोकसेवा आयोग र शिक्षा सेवा आयोगमा आकर्षित गर्नका लागि गाउँका ४६ युवालाई १८ दिने निःशुल्क कक्षा दिएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताए ।
पहिलो चरणका परीक्षामा सहभागी र यसतर्फ आकर्षित गर्न अभिमुखीकरण गरी विभिन्न चरणमा कार्यक्रम चलाइएको हो ।
कक्षामा मुख्य गरेर पृष्ठपोषण प्रदान गरिएको छ । प्रशिक्षकका रूपमा गाउँपालिकाका अधिकृतस्तरका कर्मचारी रहेका छन् । गाउँपालिकाका अध्यक्ष युवराज केसीले चन्द्रकोट क्षेत्रमा लोकसेवा र शिक्षक सेवामा कम आर्कषण रहेकाले आफूहरूले निःशुल्क कक्षा सञ्चालन गरेको बताए ।