काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन्। शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्।
कार्की सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन्। उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताइन्।
उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन्।
आर्यघाटमा पुर्याइएको शवमा पनि व्यापार हुने र जलाउन चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको उनले बताइन्।