गोरखा । क्याम्पस प्रमुख कुट्ने मेयर र जिसस प्रमुखका स्वकियलाई कारवाहीकाे माग गर्दै गोरखाकाे द्रब्यशाह बहुमुखी क्याम्पसमा पठनपाठन बन्द गरिएकाे छ ।
जनयुद्धका बारे सामाजिक सञ्जालमा दिएकाे अभिब्यक्तिप्रति असन्तुष्टी जनाउँदै गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर रानाका स्वकिय सचिव समेत रहेका अनिष अर्याल, जिल्ला समन्वय समिती गोरखाका प्रमुख माेहन थापाका स्वकिय सचिव राजन आले लगायतले द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई गत फागुन २ गते कार्यकक्षमै पुगेर हातपातसहित ताेडफाेड गरेका थिए ।
तर उनिहरुलाई हालसम्मपनि प्रहरी, प्रशासनले कुनै कारबाही नगरेकाे भन्दै स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ती निकाल्दै प्रशासनिक कामका साथै अनिश्चित कालका लागि पठनपाठन बन्द गरिएकाे जनाएकाे छ ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविण बस्नेतद्धारा हस्ताक्षरित बिज्ञप्तीमा प्रमुखमाथि कुटपिट र क्याम्पस तोडफोडमा संलग्नलाई उजुरी गर्दा समेत प्रहरीले कानुनी कारवाही नगरेकाले अनिश्चितकालिन क्याम्पस बन्द गरिएको बताइएकाे छ ।
‘घटनालाई बिभिन्न बाहनाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेको प्रति स्वतन्त्र विद्यार्थी युनियन घोर भत्सर्ना गर्दछ’ बिज्ञप्तीमा भनिएको छ ।

कुटपिट र तोडफोडमा संलग्नलाई कानुनी कारवाही नगर्दासम्म क्याम्पसको पठनपाठन र प्रशासन बन्द रहने बताइएको छ ।
कुटपिट र ताेडफोडकाे संलग्न गोरखा नगरपालिकाका मेयर रानाका स्वकिय सचिव अर्याल अखिल क्रान्तीकारी क्याम्पस इकाई अध्यक्ष समेत हुन । उनले उक्त घटनामा संलग्न हुँदा गोरखा नगरपालिकाको सरकारी मोटरसाईकल प्रयोग गरेकाे खुलेकाे छ ।
उक्त घटनामा जिल्ला समन्वय समिति गोरखाका प्रमुख थापाका स्वकीय सचिव राजन आले मगर, अनेरास्वीयू क्रान्तिकारी गोरखाका अध्यक्ष बिष्णु पाण्डे, सुवास तामाङ, अमृत श्रेष्ठ लगायत सहभागी रहेको स्ववियूले बिज्ञप्तीमा उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठले जाहेरी आएको र थप प्रक्रिया अघि बढेको बताए । ‘मुद्धा दर्ता गर्न समस्या छैन, आज हामी प्रक्रिया अघि बढाउँछौँ’ उनले भने ।
क्याम्पस प्रमुख दुवाडीले जनयुद्ध दिवशमा सरकारले बिदा दिएकाे भन्दै असन्तुष्टी ब्यक्त गरेका थिए । साे लगत्तै अखिल क्रान्तीकारीका इकाईले एक बिज्ञप्ती जारी गर्दै तत्काल अभिब्यक्ति फिर्ता लिन अल्टिमेटम दिएकाे थियाे ।
तर साे समयभित्र प्रमुखकाे अभिब्यक्ति फिर्ता नभएकाे भन्दै अर्यालकाे नेतृत्वमा क्रान्तिकारीका नेताहरुले उनिमाथी कुटपिटका साथै फर्निचर ताेडफोड गरेका थिए ।
घटनालाई लिएर यसअघि नै स्ववियू, नेविसंघसहित नेपाली काँग्रेस जिल्ला कार्यसमिती गोरखाले विज्ञप्ती निकालेर विराेध जनाएका थिए ।