• शनिबार, साउन ९ २०८३

अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस प्रमुखमाथी गरे आक्रमण


मंगलबार, फाल्गुन २ २०७९
995
Shares

गोरखा । अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि आक्रमण गरेको छ। 

जनयुद्ध शब्दसँग असहमत राखेको भन्दै मंगलबार बिहान कार्यकक्षमै आएर आक्रमण गरेको क्याम्पस प्रमुख दुवाडीले जानकारी दिए।

‘अखिलका अध्यक्ष विष्णु पाण्डे, गोरखा नगरपालिकाका मेयर कृष्ण रानाका स्वकीय सचिव अनिष अर्याल, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाका स्वकीय सचिव राजन आले लगायत १४/१५ जनाको टोली आएका थिए’, उनले भने, ‘अनिषले सरले त्यसरी जनयुद्ध शब्दप्रति जथाभावी किन लेख्नुभएको भन्दै थियो। मैले आफ्नो कुरा राख्दै थिएँ। विष्णु पाण्डेले आएर आक्रमण गरिहाल्यो।’ 

घटनास्थल वरपर रहेका क्याम्पसका प्राध्यापकहरू आएर आफूलाई बचाएको उनले बताए। घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द गरिएको छ। 

क्याम्पस प्रमुख दुवाडीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ। दोषी उपर किटानी जाहेरी दिने तयारी गरिरहेको दुवाडीले बताए।

घटनापछि पब्लिक क्याम्पस प्राध्यापक संघ, क्याम्पसका कर्मचारी संघ र स्वतन्त्र विद्यार्थी युनियन द्रव्यशाह बहुमुखी क्याम्पसले अलग अलग विज्ञप्ति जारी गर्दै दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेको छ। 

अखिलका जिल्ला अध्यक्ष तथा मेयर र जिसस प्रमुखका स्वकीय सचिवहरूले क्याम्पससँग असम्बन्धित विषयमा क्याम्पस हाताभित्र प्रवेश गरी गरिएको आपराधिक गतिविधिप्रति विज्ञप्तिमा विरोध जनाइएको छ। 

‘बा प्र ३ ०२ ०१४ ब ६७१३ नम्बरको गोरखा नगरपालिकाको सरकारी मोटरसाइकल प्रयोग गरी क्याम्पससँग असम्बन्धित विषयमा, क्याम्पससँग असम्बन्धित व्यक्तिहरूले क्याम्पस प्रमुखमाथि हातपात र कार्यकक्ष तोडफोड गरिएको घटनाले क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी सबैको मनोबल गिराउने काम गरिएकोप्रति घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अराजक, आपराधिक, गुण्डागर्दी गर्ने व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग गर्दछौँ। साथै यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कुनै राजनीतिक दलले संरक्षण गर्ने काम गरेमा विरोधका अन्य कार्यक्रमहरू गर्न बाध्य हुनेछौँ।’

क्याम्पस प्रमुखले आफ्ना निजी सामाजिक सञ्जालमा निजी विचार प्रयोग गर्दा आक्रमण गर्नुले राज्यले नै प्रदान गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विज्ञप्तिमा भनिएको छ। 

साथै निजी विषयलाई लिएर शैक्षिक थलोमा आक्रमण गर्नु निन्दनीय भएकाले दोषीमाथि कारबाही गर्न माग गरिएको छ।

क्याम्पस प्रमुख दुवाडीले सोमबार संविधानले नचिनेको जनयुद्ध दिवसमा बिदा गरिएकोप्रति असहमति राख्दै फेसबुकमा स्टाटस लेखेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार