सुदीप श्रेष्ठ
गोरखा । शहिद लखन गाउँपालिका ९ नामजुङका राजु अम्गाईं गाउँकै जनशक्ति माविमा १० कक्षामा पढ्छन्। एसइइको तयारीमा रहेका अम्गाईंको दैनिकी पढाइलेखाइ मात्रै छैन । उनी फुर्सदको समयमा साथीहरुको कपाल पनि काटिदिन्छन् । यो उनको तीन वर्षदेखिको दैनिकी हो ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मात्रै होइन उनी शक्षकको पनि कपाल काट्छन् । विद्यालयमै सैलुन घर स्थापना गरेर साथीहरुको कपाल काट्दै आएका अम्गाईं त्यसवापत प्रति व्यक्ति रु ५० लिन्छन् । जसमा उनले ३० रुपैया राखेर २० रुपैया विद्यालयलाई दिन्छन् ।
हामी पुग्दा दिउँसो खाजा खाने समय थियो । धेरै विद्यार्थी क्यान्टिनमा खाजा खाइरहेका भेटिए पनि उनी सैलुन घरमा कपाल काट्दै गरेको भेटिए । विद्यालयमा विरलै भेटिने दृष्य देखिएपछि हामीले कामको विषयमा जिज्ञासा राख्यौं । अम्गाईंले तुरुन्तै जवाफ फर्काइहाले ‘सीप पनि सिकिने, आफ्नो पर्सनल खर्च पनि जुट्ने । ’

सो विधालयका अरु ३ विद्यार्थीको दैनिकी पनि उनको जस्तै हो । कक्षा १० मै पढ्ने आयुष ढकाल पनि हरेक दिन ८ देखि १० जनासम्मको कपाल काट्न भ्याउँछन् । खाजा खाने समय र छुट्टी भइसकेपछि मेसो मिलाएर उनले साथीहरुको कपाल पैसा लिएर काटिदिन्छन् । ३ वर्षदेखि नियमित रुपमा पढाइसँगै यो काममा लाग्दा आत्मविश्वास पनि बढेको उनी बताउँछन् ।
‘३ वर्ष भयो घरबाट पैसा माग्नु परेको छैन, खाजा खाने, कलम कापी किन्नेदेखि कहिलेकाही घुम्न जानसम्म आफ्नै कमाईँले धान्छ’ सिभिलिखबरसँग ढकालले भने ‘अरुको कमाईमा भरपर्नु नपर्दा सारै आनन्द फिल हुँदो रहेछ ।’
राजु र आयुषकै तरिकाबाट प्रभावित बनेर अहिले नौ कक्षामा पढ्ने रमेश अम्गाईँले समेत विद्यालयमै रहेको सैलुन घरमा उनिहरुसँग कपाल काट्ने सीप सिक्दैछन् । बजारमा कपाल काटेकै एक सयदेखि डेढ सय रुपैयासम्म तिर्नुपर्छ तर उनिहरुले स्कुलमा ५० रुपैया मै कपाल काटिदिने गरेपछि अहिले सैलुन घरमा घुँइचो बढ्न थालेकोछ ।

‘पढ्ने मात्रै होइन, सीप पनि सिक्दा राम्रो हुने रहेछ’ कैचि चलाउँदै गरेका रमेशले सिभिलखबरसंग भने ‘जिन्दगीमा आफै केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ, यसैमा म पनि खुसी छु, घरमा आमा बा पनि खुसी हुनुभएको छ ।’
यता विद्यालय समेत उनीहरुको कामबाट प्रशन्न छ । २०७४ सालमा शहिद लखन गाउँपालिकाको सहयोगमा विद्यालयले एक विद्यार्थी एक सीप कार्यक्रम अन्तरगत विद्यालयमै सैलुन घर स्थापना गरिदिएको थियो ।
सुरुवाती समयमा प्रभावकारी नदेखिए पनि हाल विद्यार्थीले पढाई र सीपको विकाससँगै आम्दानी गरेको देख्दा आफूहरु सन्तुष्ट रहेको प्रधानाध्यापक चिरञ्जिवी काप्रीले बताए ।

‘हामी विद्यार्थीले थेउरी मात्रै पढुन् भन्ने चाहन्नौँ, पढाइसँगै जीवनमा काम लाग्ने सीप पनि सिकुन् र त्यसलाई आयआर्जनको स्रोत बनाउन् भन्ने चाहान्छौ’ सिभिलखबरसँग प्रअ काप्रीले भने ।
विद्यालयले सैलुन घर मात्रै होइन केराको विरुवा समेत रोपेको उनले बताए । कृषि क्षेत्रको सम्भावना देखाउदै विद्यार्थीलाई प्रेरित गर्न हालसम्म विद्यालय परिसरमै एक सय भन्दा बढी केराको विरुवा विद्यार्थीहरुले रोपिसकेको उनले जानकारी दिए ।
