काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले ३० वटा शाखा र उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीको सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई हस्तान्तरण गरिएको हो ।
खरिद गरिएका ३० वटै एम्बुलेन्स ‘ख’ वर्गका छन् । ‘ख’ वर्गका एम्बुलेन्समा अक्सिजन सिलिन्डर, मोनिटरलगायत न्यूनतम स्वास्थ्य पूर्वाधार रहेका हुन्छन् ।
विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने उद्देश्यले एम्बुलेस सहयाेग गरिएकाे रेडक्रशले जनाएकाे छ ।
एम्बुलेन्स प्राप्त गर्नेमा गोरखाको मनकामना, इलाम, झापा, तेह्रथुम, सङ्खुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्यूठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्ला शाखा छन् । यस्तै बाँकेको सोनारी, बर्दियाको बारबर्दिया, भोजपुरको अन्नपूर्ण, कालीकोटको नरहरिनाथ, रोल्पाको घर्तीगाउँ, सिन्धुलीको ग्वालटार र सिरहाको मिर्चैया उपशाखाले पनि एम्बुलेन्स प्राप्त गरेका छन् ।

यी एम्बुलेन्स विभिन्न जिल्ला शाखालाई हस्तान्तरण गरिएसँगै रेडसक्रसको एम्बुलेन्स सेवा अझ स्तरीय हुँदै जाने र बिरामी तथा घाइतेलाई अस्पतालसम्म पुर्याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको रेडक्रस सोसाइटीले जनाएको छ । हस्तान्तरण गरिएका एम्बुलेन्सलाई प्रादेशिकस्तरमा स्थापना गरिएका प्रेषण केन्द्रमा आबद्ध गरी १०२ नम्बर मार्फत सञ्चालन हुनेछन् ।