• शुक्रबार, साउन ८ २०८३

वीर अस्पतालमा सिटी स्क्यान ठप्प, बिरामीलाई नीजिमा जान यसरी पारिन्छ बाध्य


सोमबार, माघ २३ २०७९
1.6K
Shares

काठमाडौँ । कैलाली घर भएका तीलक चौधरी भाउजुको उपचारका लागि शनिबार ‘नाइट’बस चढेर काठमाडौँ ओर्लिए । आइतबार बिहानै वीर अस्पतालका चिकित्सकलाई भेट्दा ‘सिटी स्क्यान’ गर्नुपर्ने सल्लाह पाए ।

भाउजु आशा चौधरीलाई नशासम्बन्धी समस्याको उपचारका लागि कैलाली कै सेती प्रादेशिक अस्पतालको रिफर कागज बोकेर काठमाडौँ आइपुगेका उनलाई डाक्टरले सिटी स्क्यान गर्नुपर्ने मात्रै सुझाव दिएनन्, वीरमा मेसिन बिग्रिएकाले अरु अस्पतालमा गइ जाँच गरेर रिपोर्ट ल्याउन भनेपछि तीलक रनभुल्लमा परे । कतै कोही नचिनेको, त्यसमाथि सिमित रकम गोजीमा बोकेर आएका उनीहरुलाई सुरुमा त के गर्ने, कहाँ जाने र कसलाई भन्ने भयो ।

उनलाई अस्पतालका अरु कर्मचारीलाई सोध्दा वीर नजिकै रहेको ट्रमा सेन्टरमा पनि सिटी हुने थाहा भयो । ट्रमाका रेडियोटेक्नोलोजिष्टले जाँच त हुने तर रिपोर्ट आउन झण्डै हप्ता दिन कुर्नुपर्ने बताइदिए । उनी अझै छाँगाबाट खसेजस्तो भए । हप्ता दिन रिपोर्ट कुरेर काठमाण्डाै बस्नु भन्दा ‘प्राइभेट’ अस्पताल जान अरु विरामीका सहयोगीको सुझाव पाएपछि उनीहरु ट्याक्सी लिएर सिनामङ्गलको काठमाडौँ मेडिकल कलेज पुगे । अनि ६ हजार ५९५ तिरेर जाँच गराए । सोमबार सिटी स्क्यानको रिपोर्ट बोकेर फेरि वीर अस्पताल आइपुगे तर डाक्टर फेला परेनन् । सोध्दा कर्मचारीको जवाफ आयो, ‘आज डाक्टर ‘साप’को अन्तै डिउटी छ, भोलि आउनुस् ।’

ऋण गरेर उपचारका लागि काठमाडौँ आएका चौधरीको गोजीमा अब धेरै पैसा बाँकी छैन । सोमबार वीरको प्राङ्गणमा भेटिएका उनले सिभिलखबरसँग दुख पोख्दै भने, ‘पैसा नहुनेले त उपचारै नपाएर मर्नुपर्ने समय आयो, देशकै ठूलो अस्पताल भनेर वीर आइयो तर के गर्नु न सिटी हुन्छ न भनेको बेला डाक्टर भेट हुन्छ ?’

चौधरीको जस्तै समस्या ओखलढुङ्गाका कमल श्रेष्ठले पनि भोग्नु पर्यो । यस्ता ‘केस’ अहिले वीरमा दैनिक ६० जनाभन्दा बढी विरामीले भोगिरहनु परेको छ ।

४ दिनदेखि सिटी स्क्यान सेवा ठप्प

चारदिनदेखि देशकै जेठो अस्पतालले विरामीलाई सिटी स्क्यान सेवासमेत दिन सकेको छैन । मेसिनमा जोडिएको यूपिएसको तार पड्किएको भन्दै अस्पतालले सो सेवा ४ दिनदेखि बन्द हुँदा विरामी मर्कामा परेका हुन् । उनीहरु निजी अस्प्तालमा चर्को मूल्य तिरेर उपचार गराउन बाध्य छन् ।

सिटी गर्नुपर्ने रोग र अङ्ग हेरेर वीरमा २५ सयदेखि ७ हजारसम्म मूल्य रहे पनि निजी अस्प्तालले १० हजारसम्म लिने गरेको विरामीहरुको गुनासो छ ।

वीरमा मेसिन बिग्रिए पनि सँगै रहेको ट्रमा सेन्टरमा समेत तोकिएको समयमा रिपोर्ट दिन नसकिने बताउँछ । विरामीको चाप बढेकाले समयमा रिपोर्ट दिन नसकिएको सो शाखाका एक कर्मचारीले सिभिलखबरलाई बताए । ‘हाम्रो दैनिक ५/७ वटा मात्रै सिटी हुन्थ्यो, अहिले दैनिक ५०/६० वटा केस आइरहेका छन्, कसरी भ्याउनु ?’ ति कर्मचारीले प्रश्न गरे ‘लिखित रिपोर्टलाई त टाइम लाग्छ ।’

यता वीर अस्पतालकै एक कर्मचारी भने बिग्रिएको मेसिन हतपत नबन्ने बताउँछन् । नाम नलेख्ने सर्तमा ति कर्मचारी भन्छन् ‘नयाँ किन्ने भनेको भए कमिसनको लोभमा पनि मेसिन भोलि नै आउथ्यो, पूरानो मेसिन बनाउन कसले चासो दिने ? उनका अनुसार इमेरजेन्सीमा आएका विरामीलाई समेत सिटी गराउन बाहिर पठाउनु पर्ने बाध्यता छ ।

कहिले बन्छ भन्ने ग्यारेण्टी दिन सकिन्न: विभाग प्रमुख शर्मा

यता वीर अस्प्तालको सो विभागका प्रमुख डा सरोज शर्माले सिटी स्क्यान सेवा कहिलेदेखि सुरु हुन्छ भन्नेमा अनविज्ञता जनाए । बिग्रिएको मेसिन बनाउन नेदरल्याण्डबाटै इन्जिनियर आउनुपर्ने बताउदै उनले वीर अस्प्तालमा आएका बिरामीको सिटीका लागि ट्रमासंँग समन्वय भएको बताउँछन् ।

‘सिटी स्क्यान मेसिन बिग्रिएको होइन, त्यो मेसिन जोड्ने यूपिएसको तार पड्कीएको हो’ डा शर्माले सिभिलखबरसँग भने ‘यूपिएस नेदरल्याण्डको कम्पनीको हो, अब उतैबाट मान्छे नआई बन्दैन, हामीले कम्पनीमा खबर गरिसकेका छाैं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार