• शनिबार, साउन ९ २०८३

विमानस्थलको आगमन कक्षमा १० यात्रु क्षमताको नयाँ एलिभेटर थपिने


बुधबार, माघ १८ २०७९
850
Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटना तथा जनगुनासोबारे आइएमएस ग्रुप व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यो समस्याको समाधान तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रु बाहिर निस्किने मार्ग, प्रतीक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउन आइएमएस एयरपोर्ट सर्भिसेजले पूर्णरुपमा प्रतिबद्ध रहेको जानकारी विज्ञप्तिमार्फत दिएको छ । 

कम्पनीले सम्पूर्ण यात्रुहरूको सहज र सुरक्षित यात्रालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको पनि जनाएको छ ।

यात्रुहरूले आगमन कक्षबाट बाहिर निस्कँदा प्रयोग गर्ने ट्रलीहरूको व्यवस्थापन यो निर्माणका लागि भएको सम्झौताअन्तर्गत नपरे पनि आइएमएस एयरपोर्ट सर्भिसेजले ट्राभलेटरमा सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रलीहरू खरिद गरेर उपलब्ध गराउँदै त्यसको व्यवस्थापनमा पनि सहजीकरण गरेको जनाएको छ । 

तर, ह्विल लकिङ सिस्टम नभएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिले देखि नै प्रयोगमा रहेका ट्रलीहरू प्रस्थान कक्षबाट आगमन कक्षमा पुगेर नयाँ ट्रलीहरूसँग मिसमास भइरहे पछि ट्राभलेटरमा ती पुराना ट्रलीहरूका कारण एकभन्दा धेरै लगेज भएका यात्रुहरूका लागि समस्या भएका जनाएको छ । 

यात्रुहरूको आगमन सरल, सहज र सुरक्षित बनाउन आइएमएस एयरपोर्ट सर्भिसेजले तत्काल विभिन्न कार्यहरू गर्ने पनि जनाएको छ । 

जुन यसप्रकार छन्–

–आगमन कक्षमा जतिसक्दो छिटो १० यात्रु क्षमताको नयाँ एलिभेटर थपिनेछ जसले आगमन कक्षको उक्त क्षेत्रमा हुने भिडभाड व्यवस्थापनमा सहज हुनेछ र समस्याहरू न्यूनीकरणमा सहयोग गर्नेछ ।

–उक्त ट्राभलेटरमा यात्रुहरूले दुःख नपाउन् भन्ने उद्देश्यले सहयोग गर्न, सहज बनाउन र गाइड गर्न २४ सै घन्टा एक सुरक्षा गार्डको व्यवस्थापन गरिएको छ ।

–ट्राभलेटरमा के गर्ने र के नगर्ने भन्ने जानकारीका दिन तथा यात्रुहरूलाई सूचित गर्नका लागि त्यहाँ साइनबोर्डको राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ह्विल लकिङ सिस्टम भएका ट्रलीहरू र प्रस्थान कक्षका ह्विल लकिङ सिस्टम नभएका ट्रलीहरू मिसमास नहोस् भन्नका लागि उच्च सतर्कता अपनाइनेछ । त्यहाँ भएका ट्रलीहरू नियमित रूपमा मर्मत सम्भार गरिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार