काठमाण्डाै । गएको पुस महिनामा मात्रै ६५ हजारभन्दा धेरै नेपालीले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । बैदेशसिक राेजगार विभागका अनुसार गएको पुस महिनामा नयाँ र व्यक्तिगत गरी ६५ हजार ४ सय ६४ जनाले श्रम स्वीकृति लिएका हुन् । नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या मात्रै ३८ हजार ८ सय ६४ रहेको विभागकाे तथ्यांकमा उल्लख छ ।
जसमा सबै भन्दा बढी कामदार मलेसिया गएका छन् । नेपालबाट गएकाे पुस महिनामा मात्रै २० हजार जना भन्दा बढी कामदार मलेसिया पुगेका छन् । गएको पुस महिनामा मलेसिया जाने नेपालीको सङ्ख्या २० हजार ३ सय ३९ जना रहेकाे विभागले जनाएको छ ।
मलेसियापछि कतार जाने नेपालीको सङ्ख्या धेरै छ । विभागका अनुसार पुस महिनामा मात्रै कतारका लागि १३ हजार ६६ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै साउदीका लागि ११ हजार ६ सय २७ जनाले, यूएईका लागि ९ हजार २७ जनाले र कुवेतका लागि ३ हजार ८ सय ८९ जनाले श्रम स्वीकृति लिएका छन् ।
संस्थागत र व्यक्तिगत तवरबाट पुस महिनामा १२० देशका लागि श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।