काठमाण्डाै । सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरूको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले बताएकी छन् ।
मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमनका क्रममा उनले फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरू, कस्मेस्युटिकल प्रोडक्ट्सहरू बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको उल्लेख गरिन् ।
बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरूको आफूखुसी प्रयोग हुने र औषधिहरू पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेकाे बताइन् । नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने उनकाे भनाइ छ ।