रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली तीन महिनादेखि अलपत्र परेका छन्।
साउदी अरेबिया आउने क्रममा मेनपावरले सिधा कम्पनी भिसा हो र नेपालमा गरेको सम्झौताअनुसार सबै सुविधाहरू प्राप्त हुनेछन् भनि प्रतिव्यक्ति १ लाख पचास हजारदेखि दुई लाखसम्म मेनपावर सञ्चालक विष्णु सापकोटालाई बुझाएको पीडितहरूले बताए ।
पीडितका अनुसार कम्पनीले अलपत्र पारेको जानकारी मेनपावर सञ्चालक सापकोटालाई गराउँदा आजभोलि गरेर १ महिनासम्म कतैबाट पनि सुनाइ भएन। पीडितले भने, ‘लगत्तै नेपाली दूतावासमा १४ नोभेम्बर २०२२ का दिन जानकारी गर्यौं र हालसम्म पनि समाधान भएन।’ स्वदेश फिर्ताको लागि भिडियोमार्फत पीडितहरूले नेपाल सरकार र गृहमन्त्री रवि लामिछानेसमेत आग्रह गरे छन्।
अलपत्र पर्नेहरूमा सुरज जिसी चितवन, प्रमोद चौधरी दाङ, जितबहादुर सार्की पाल्पा, प्रदीप पोखरेल रुपैन्देही, मिलन राना मगर लमजुङ, सोनाम खोले सिन्धुपाल्चोक, राजेश सुवेदी सिन्धुपाल्चोक, प्रकाश गुरुङ चितवन, रुमबहादुर घर्ती मगर प्युठान, शम्भू घिसिङ मकवानपुर, सुरज नेपाली गुल्मी छन्। त्यस्तै, सन्दीप श्रेष्ठ अर्घाखाँची, अर्जुन क्षेत्री गुल्मी, राजकुमार श्रेष्ठ अर्घाखाँची,निरन घर्ती मगर रोल्पा, शेरबहादुर थापा पाल्पा, जोगेन्द्र नगरकोटी बर्दिया, दिनेश चौधरी दाङ , सुशिल पुन मगर दाङ,बालकृष्ण रिजाल झापा, बलवहादूर खत्री रूपन्देही, राजन दरलामी मगर कास्की, विष्णु नेपाली पाल्पा, रमेश सुनार पर्वत गरी २४ जना छन्।