गोरखा । बाँझो जग्गामा खेती गर्नेलाई बारपाक सुलिकोट गाउँपालिकाले अनुदान दिने घोषणा गरेको छ ।
गाउँपालिका क्षेत्र भित्रका किसानहरूले बाँझो जग्गामा खेती गर्न चाहे अनुदान रकम दिने गाउँपालिकाले घोषणा गरेको हो ।
दुई बर्ष वा सो भन्दा अघिदेखि बाँझो रहेका जग्गालाई उपयोग गरी उत्पादन बढाउनका लागि यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
जसअनुसार बाँझो जमिनमा खाद्यान्न र तरकारी खेती गर्ने कृषकलाई प्रति रोपनी ३ हजारको दरले अनुदान उपलब्ध गराइने बताइएको छ ।
त्यस्तै, मसला बाली र फलफुल बाली उत्पादन गर्न चाहनेलाई प्रति रोपनी क्रमशः २ हजार पाँ सय र २ हजार नगद अनुदान दिइने अध्यक्ष भट्टको भनाइ छ ।
गाउँपालिकाले यसअघि नै बाँझो जग्गा उपयोग अनुदान कार्यविधि २०७७ निर्माण गरी प्रकृया अघि बढाइसकेको बताएको छ ।
त्यस्तै गाउँपालिकाले सात दिने सार्वजानिक प्रकाशित गर्दै बाँझो जमिनको विवरण बुझाउन समेत गाउँपालिकावासीलाई आग्रह गरेको छ ।