काठमाण्डाै। नर्सहरुको श्रमशोषण गर्ने अस्पताल खारेज गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले चेतावनी दिएका छन् । नर्सहरु माथी श्रमशोषण काम गर्न बाध्य बनाउने स्वास्थ संस्थालाई नवीकरण नगरी खारेजसम्म गर्ने उनले चेतावनी दिएका हुन् ।
नेपाल नर्सिङ संघको ६१ औँ वार्षिकोत्सवलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै गिरीले नर्सको तलब निकै कम भएको गुनासाे आएकाले श्रम शोषण गर्ने स्वास्थ्य संस्थामा तत्काल अनुगमन गरि कारबाही गर्ने प्रतिवद्धता जनाए ।
उनले नर्सहरूलाई अनलाईन पेमेन्टको व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिए ।
मन्त्री गिरीले कोभिड कालमा नर्सहरूले आफ्नो जीवनलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनीहरूलाई आवश्यक तलब भत्तासहितको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘नर्सलाई मुस्कानसहित सेवा दिनु पर्छ भनिन्छ, तर उनीहरु बिरामी हेर्दा हेर्दा हाँस्न भुलिसकेका छन्’, उनले भने, ‘नर्सले बिरामीलाई बचाउन निकै ठूलो भूमिका खेल्छन्। त्यसैले उनीहरुको काँधमा ठूलो जिम्मेवारी रहन्छ।’