काठमाडौं । हाेस्टेलकाे बिषयलाई लिएर भएकाे आन्दाेलनका क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका विद्यार्थीहरुमाथी प्रहरीले लाठी चार्ज गरेकाे छ ।
विद्यार्थीहरुले क्याम्पस प्रशासनले छात्राबास (होस्टल) को पानी र विजुली नै काटेर विद्यार्थीलाई दुःख दिएको आरोप पनि लगाएका छन् ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा धर्ना दिन पुगेका विद्यार्थीहरूमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।
प्रहरीको लाठी लागेर आधा दर्जन विद्यार्थी घाइते भएका छन् । उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । डीनको कार्यालयले बेरियरमा परेका विद्यार्थीहरूका विषयमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम थियो ।
विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरूमाथि कुटपिट गर्न थालेको हो । आन्दोलन गर्दै हिडेका विद्यार्थीहरूलाई समाती समाती प्रहरीले कुटपिट गरेको विद्यार्थीहरूको भनाई छ ।
प्रहरीको कुटपिटबाट कतिपय विद्यार्थीको टाउँकोमा चोट लागेको छ भने कतिपयको शरीरभर निलडाम देखिएका छन् ।