धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो ।
डायलसिस प्रक्रियामा प्रयोग हुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो । आरोपानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिइन्।
आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मङ्सिरदेखि दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ ।
आरोपानी दुई सय ५० लिटर प्रतिघण्टा उत्पादन हुँदा दुई चरण थियो । अहिले आरोपानी प्रतिघण्टा एक हजार लिटर उत्पादन हुन्छ । डायलासिस मेसिन थप गर्न सके थप बिरामीको पनि उपचार गर्न सकिने सूचना अधिकृत पौडेलको भनाइ छ ।
हाल अस्पतालमा ४४ जना मिर्गौलाका बिरामीले नियमित निःशुल्क रुपमा डायलासिस सेवा लिँदै आएका छन् ।