तनहुँ । तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरूलाई कुटपिट गरेका हुन् । उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४ बरण्डाँडा निवासी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा घाइते भएकी थिइन् ।
लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए ।