काठमाण्डाै । सामाजिक सुरक्षा कोषबाट २ हजार ६ सय जना भन्दा बढीले मोबाइलबाटै रकम सापटी लिएका छन् । तिन बर्षदेखि नियमित रुपमा सुरक्षा कोषमा योगदान गर्दै आएकामध्ये २ हजार ६ सय ४३ जनाले मोबाइल एप्स मार्फत ५१ करोडभन्दा बढी रकम सापटी लिएका हुन् ।
२०७९ भदौ २ गतेदेखि कोषले सुरु गरेको विशेष सापटी योजना अन्तरगत ३ बर्ष कोषमा योगदान पु¥याउने योगदाकर्तालाई सो सुविधा दिइएको कोषका सूचना व्यवस्थापन महाशाखाका प्रमुख डा. रोशन कोजुले सिभिलखबरलाई बताए । यस योजना अन्तरगत आफुले कोषमा योगदान गरेको रकम मध्ये ८० प्रतिशत रकम सापटीका रुपमा लिन पाउने ब्यवस्था रहेको उनको भनाई छ ।
कोषले सञ्चालनमा ल्याएको ‘एसएसएफ’ मोबाइल एप्सको प्रयोग गरी घरैमा बसेर योगदानदर्ताले न्यूनतम ५० हजारभन्दा माथी योगदानका आधारमा विना धितो रकम सापटी पाउने प्रमुख कोजुले बताए ।
‘छिटो, छरितो र आफ्नै मोबाइलबाट प्रकृया गर्न मिल्ने भएकाले यसमा धेरै योगदानकर्ताले रुची देखाउनु भएको छ’ डा. कोजुले सिभिलखबरसंग भने ‘यसमा धितोको झण्झटपनि छैन, न त कुनै काजजातको प्रकृया नै पु¥याउनुपर्ने हुन्छ ।’
करिब ३ लाख योगदानकर्ता रहेको कोषमा यस योजना अन्तरगत हालसम्म न्यूनतम ५० हजारदेखि एकै ब्यक्तिले ६६ लाखसम्म रकम सापटी लिएको उनको भनाई छ । हाल ९ दशमलव १० प्रतिशत ब्याज कायम गरिएको यस योजनाबाट रकम सापटी लिएपछि ५ बर्षभित्र ब्याजसहित साँवा फिर्ता गरिसक्नुपर्ने ब्यवस्था रहेको छ । यस योजनामा २०७६ साउनदेखि नियमित रुपमा योगदान गर्ने योगदानकर्ता मात्रै सहभागी हुन पाउने छन् ।
‘होम र एजुकेशन लोन’ मा आकर्षण देखिएन
त्यस्तै कोषले सञ्चालनमा ल्याएको ‘होम र एजुकेशन लोन’ योजनामा भने योगदानकर्ताको आकर्षण नदेखिएको कार्यालय स्विकार्छ । ‘होम र एजुकेशन लोन’ योजना अन्तरगत हालसम्म एक एक जना योगदानकर्ताले मात्रै सापटी रकम लिएको डा कोजु बताउछन् ।
‘होम लोन’ मा समेत ३ बर्षको योगदान अनिबार्य सर्त छ । त्यस्तै यस योजनामा धितो अनिबार्य भएकाले समेत योगदानकर्ताको आकर्षण कम भएको हुन सक्ने कार्यालयको अनुमान छ । यस योजनामा हालसम्म एक जनाले ३७ लाख रुपैया सापटी लिएको कोजु बताउछन् । यसैगरी ‘एजुकेशन लोन’ योजना अन्तरगत समेत हालसम्म एक जनाले मात्रै सापटी लिएको कार्यालयसंग तथ्यांक छ ।
मंसिर २०७७ मा मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार सामाजिक सुरक्षा कोषबाट ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि–२०७७’ ले श्रमिकले आफूले सामाजिक सुरक्षाबापत योगदान गरेको रकमबाट सापटी पाउने बाटो खोलेको थियो । कोषको ‘सापटी सुविधा’ योजना तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भदौ २ गते एक कार्यक्रमकावीच सुरु गरेका थिए ।