काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालेको बताएका छन् ।
आइतबार विमानको मर्मत–सम्भार र सञ्चालनसम्बन्धी अन्तरक्रियाका क्रममा उनले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउन सक्ने चुनौतीको सामना गर्ने गरी काम गरिरहेको जानकारी दिए ।
उनले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मत–सम्भार र सञ्चालनका हिसाबले सुरक्षित रहेको जिकिर गरे ।
बस्नेतले बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अरू सूचनाहरू लुकाउने नगरेको बताए । उनले हवाई उडानका हरेक काम गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य र जानकारी गराउने गरेको बताए ।
बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य ‘युनिक’ र फलदायी रहेको उनको भनाइ छ ।