गाेरखा । सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोेगिता सुरु भएको छ । परोपकार आर्दष माबि जौबारीको खेलमैदानमा बुधवारदेखि सुरु भएको प्रतियोगिताको नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा प्रदेशसभाका विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा संबोधन गर्दै उनले खेलले खेलाडीहरुमा सामाजिक सद्भाव, मेलमिलाप बढ्नुका साथै भविस्यमा राम्रो खेलाडी बनेर आफ्नो व्यवसायिक खेलको सुरुवात गर्ने अबसर प्राप्त हुन सक्ने बताए ।
प्रतियोगीतामा गाउपालिका भित्रका १५ वटा माध्यमिक बिध्यालय र एक निजि गरी १६ वटा बिद्यालय सहभागी हुने गाउँपालिका सूचना अधिकारी अहमददिन मियाँले जानकारी दिए। प्रतियोगितामा भलिबल, हाइजम्प लङजम्प, छेलो, कवडी, रिले दौड लगायतका १५ वटा खेलहरु समावेश गरिएको उनले बताए । त्यसपश्चात जिल्ला हुदै प्रदेश र केन्द्रमा प्रतिस्पर्धा गर्नेछन् ।
गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षता तथा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा प्रदेशसभाका विपक्षी दलका नेता सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका शिक्षा अधिकृत मोतिमाया ढकाल, पुर्व जिल्ला विकास समितिका सभापति चेतमान श्रेष्ठ, पालिका उपाध्यक्ष रिता देवकोटा, वडा अध्यक्ष दलमान गुरुङ लगायतले मन्तव्य राखेका थिए ।