काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आईसोलेसन सेण्टर निर्माण गर्ने निर्देशिका तयार भएको छ ।
विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता र अन्तर्राष्ट्रिय अनुभवको अध्ययनबाट तयार भएको निर्देशिका स्वास्थ्य मन्त्रालयमा बुझाईएको सोसाइटी अफ् नेप्लिज आर्किटेक्टस (सोना) का महासचिव सुरज खनालले जानकारी दिनुभयो ।
कोभिडको संक्रमण बढेसँगै क्वारेन्टिन, आईसोलेसन लगायतका कक्षहरु स्थानीयतहदेखि केन्द्रिय तहसम्म निर्माण भएका छन् ।
तर, पूर्ण सुरक्षित आइसोलेसन तयार हुन नसकेको गुनासो आईरहँदा डब्लु एच ओ र अन्तर्राष्ट्रिय मुलुकहरुले गरेका प्रयत्नहरुको अध्ययन गर्दै नेपालीपनको आईसोलेसन केन्द्र निर्माण गर्न सकिने भन्दै स्वास्थ्य मन्त्रालयमा विज्ञहरुले तयार गरेको निर्देशिका हस्तान्तरण गरेका हुन् ।
नेपाल एकेडेमी अफ् साइन्स एन्ड टेक्नोलोजी (नास्ट)सँगको सहकार्यमा सोनाले तयार पारेको निर्देशिकाका लागि वरिष्ठ आर्किटेक्ट, विज्ञ चिकित्सक, प्राविधिक परामर्शदाता इन्जिनियर लगायतको सामुहिक प्रयत्न रहेको छ ।
निर्देशिका तयार गर्नुअघि विज्ञ टोलीले विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.), रोग नियन्त्रण तथा रोकथाम केन्द्र, राष्ट्रिय स्वास्थ्य सेवासहितका संस्थाका मापदण्ड र बंगलादेश, हङ्कङ्, आर्किटेक्टहरुको एशियास्तरीय परिषद् लगायतले जारी गरेका निर्देशिकाको समेत अध्ययन गरेको थियो ।
आईसोलेसन सेण्टर निर्माणका लागि सरकारलाई सहयोग गर्ने हेतुले लामो समय र सबै क्षेत्रका विज्ञहरुको सहभागितामा तयार भएको निर्देशिका अनुरुपका केन्द्र निर्माण हुनेमा आफुहरु विश्वस्त भएको सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधानले बताइन ।
उनकै नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्रालयमा निर्देशिका हस्तान्तरण गरिसकेको छ ।