गोरखा । भीमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष अमृता वस्तीले सेवा सुबिधा बापतको रकम समाजसेवामा लगाएकी छिन् ।
निर्वाचन पहिले नै घोषणा गरे अनुरुप उनले गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ती वितरण सुरु गरेकी छिन्।
‘भाई बहिनीहरुले कापी कमल किन्न नसकेर पढाई छोड्नु पर्ने अबस्था मैले २५ वर्षको अध्यापन अनुभवमा धेरै देखेको छु,’ उनले भनिन्, ‘भोट माग्न जाँदैमा मैले यदी चुनाब जिते भने सेवा सुबिधा बापत पाउने रकम गरिब तथा विपन्न व्यक्तिको हितमा खर्च गर्छु भनेर घोषणा गरेको थिएँ । सोही अनुरुप अहिले केही बहिनीहरुलाई छात्रावृत्ती दिन सुरु गरेको हँु ।’
उनले बिहीबार बिन्द्रावती मावि मसेलमा अध्ययनरत एक छात्रालाई ५ हजार छात्रावृती वितरण गरेर यो अभियान सुरु गरेकी छिन् । अन्य विद्यार्थीलाई क्रमश छात्रावृत्ती रकम उपलब्ध गराउँदै जाने उनको योजना छ ।
‘यो थालनी मात्र हो, धेरैलाई सहयोग गर्ने मेरो योजना छ,’ उनले भनिन्,‘सहयोग आवश्यक रहेका गरिब तथा जेहेन्दार छात्राहरुको पहिचान गर्ने काम भइरहेको छ । बिस्तारै उहाँहरुलाई पनि रकम वितरण गर्ने मेरो योजना छ ।’ अहिले विद्यालयका शिक्षक, स्थानीय अभिभावक र सरोकारवाला व्यक्तिबाट त्यस्ता छात्राहरुको पहिचान गर्ने काम भइरहेको पनि उनले बताइन् ।
‘उहाँहरुले मलाई नाम दिनु हुन्छ अनि उहाँहरुको हातमा पनि रकम पु¥याउँछु,’ उपाध्यक्ष वस्तीले भनिन्, ‘मेरो सानो सहयोगले उहाँलाई पढ्न सजिलो होस् भन्ने मेरो उदेश्य हो ।’
वस्ती शिक्षण पेशाबाट अबकास पाएपछि राजनीतिमा लागेकी हुन् । गाउँपालिकाबाट प्राप्त हुने सेवा सुबिधाको सबै रकम सामाजिक सेवामा खर्च गर्ने उनको योजना छ । शैक्षिक क्षेत्रसँग अन्य अत्यावश्यक काममा उक्त रकम खर्च गर्ने योजना रहेको उनले बताईन ।
‘यो अहिले २/४ दिन मात्र होइन । मैले पदस्थापना गरेदेखि यो पदमा रहुञ्जेल सम्म पाउने सबै रकम सामाजिक क्षेत्रमा लगाउने मेरो अठोट छ,’ उनले भनिन्, ‘सहयोग निरन्तर जारी रहनेछ ।’ उनी नेपाली काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
नेपालको संबिधानले माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क भनेको छ । तर शैक्षिक सामाग्री किन्ने सामाथ्र्य समेत नहुँदा कतिपय विद्यार्थीहरु वीचमै पढाई छोड्न बाध्य छन् । गरिब तथा विपन्न परिवारका बालबालिाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउन परिवारलाई पनि धौधो हुने गरेको छ ।