• बुधबार, साउन २० २०८३

आज ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै


बुधबार, पुष २७ २०७९
2.5K
Shares

हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए । यसैगरी उनका तीन कविता पनि प्रकाशित छन् । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो । नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।

यसैबीच पृथ्वीजयन्तीको अवसरमा गोरखाबाट काठमाडौं आएको एकीकरण पदयात्रासहितको ¥यालीलाई आज हनुमानढोकास्थित शार्दूल जंग गणले बाजागाजासहित नगर परिक्रमा गराउँदैछ । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार