• बुधबार, साउन २० २०८३

राष्ट्रिय परिचय पत्रका लागि गोरखामा एक लाख १५ हजारको विवरण संकलन


मंगलबार, पुष २६ २०७९
1.1K
Shares

गोरखा। राष्ट्रिय परिचय पत्रका लागि गोरखामा एक लाख १५ हजार बढीको विवरण संकलन भएको छ ।

जिल्लाका ११ स्थानीय तहमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा एक लाख १५ हजार ९८७ जनाको विवरण संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा नगरपालिकामा १८ हजार आठसय ३१ जना, पालुङटार नगरपालिकामा १८ हजार सात सय ४९ जना, शहिदलखन गाउँपालिकामा १४ हजार दुई सय ९० जना, गण्डकी गाउँपालिकामा १३ हजार छसय २ जना सिरानचोक गाउँपालिकमा नौ हजार नौ सय ८६ जनाको विवरण संकलन भएको उनले बताए ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा नौ हजार चार सय ८६ जना, आरुघाट गाउँपालिकामा आठहजार ९४ जना, अजिरकोट गाउँपालिकामा पाँचहजार पाँचसय ९८ जना, भीमसेन थापा गाउँपालिकामा छ हजार छ सय ९५ जना, धार्चे गाउँपालिकामा पाँचहजार नौसय तीन जना र चुमनुब्री गाउँपालिकामा दुईहजार एकसय ३१ जनाको विवरण संकलन भएको उनले बताए ।

गोरखामा ७० प्रतिशत जनसंख्याको विवरण संकलन गर्ने उद्देश्य सहित गत साउन १५ गते देखि पुस २५ गते सम्म राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागबाट आएको टोलीले जिल्लाको ९४ वटै वडाका विवरण संकलन गरेको हो ।

सरकारको नीति अनुसार सबै नागरिकको विवरण समेट्ने योजना अनुरुप परिचयपत्र संकलन अभियान संचालन गरिएको  सहायक प्रजिअ बरालले बताए । गोरखामा खटिएको टोली अव लमजुङ जाने बरालले बताए ।

राष्ट्रिय परिचय पत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्तगर्नका लागि प्रयोग गरीने आधारभूत पहिचान भएको परिचय पत्र हो ।

राष्ट्रिय परिचय पत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेटि्रक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेटि्रक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा-आमाको नाम, हजुरबुबा-आमाको नाम, श्रीमान-श्रीमतिको नाम, स्थायी-अस्थायी ठेगाना पर्दछन । जैविक विवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिने गरिन्छ ।

परिचय पत्रले नागरिकका सेवा सुविधासहित अपराध नियन्त्रण गर्न यो परिचय पत्र महत्वपूर्ण रहने छ । परिचय पत्र विवरण दर्ता संकलन गर्न नागरिता, बसाइ सराइ गरेको हकमा बसाइ सराइको सक्कल कगजपत्र चाहिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार