गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले अवैध रूपमा संचालनमा रहेका २३ वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा तालाबन्दी गरेको छ ।
अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगमा उपसमितिले तालाबन्दी गरेको हो ।

सोमवार कानून विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमती नलिई संचालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।
निर्देशन दिएसँगै जिल्ला अनुगमन समितिको बैठकले उपसमिति गठन गरेर अनुगमन गरी मंगलवार गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
पालुङटार १ मा रहेको सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखा नगरपालिका १० मा रहेको गोरखकाली क्रसर उद्योग, सिरानचोक ६ कालामाटाको दरौँदी क्रसर उद्योग, अजिरकोट २ को सुपर चेपे हाईड्रो पावरको क्रसर उद्योग बन्द गराइएको छ।



गण्डकी गाउपालिका ७ मा रहेको कालिका बालुवा प्रशोधन केन्द्र, न्यु गण्डकी बालुवा प्शोधन केन्द्र, न्यु गण्डकी प्रशोधन उधोग, गण्डकी ८ मा रहेको श्री घ्यालचोक सिद्धि दर्शन सप्लायर्स प्रा लि लगायतका २३ वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

जिल्ला अनुगमन समितिको निर्णय अनुसार जिल्लामा भएका सबै क्रसर उद्योग बन्द गराएको एसपी खनालले बताए । जिल्ला भित्र क्रसर उद्योग, बालुवा प्रशोधन केन्द्र र बिभिन्न आयोजनाका नाममा खुलेका २३ वटा उद्योग तत्कालका लागि बन्द गराइएको उनले बताए । सरकारले तोकोको मापदण्ड गार्हौ भयो भनेपछि मापदण्ड घटाएर सहजिकरण बनाइदिदा पनि नगरेकोले उधोगहरु बन्द गरियको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।


