• बुधबार, साउन २० २०८३

एकिकरण मार्ग खोज्दै गोरखाबाट सुरु भयो सेनाको पदयात्रा (फोटाेसहित)


बिहिबार, पुष २१ २०७९
1.5K
Shares

सुदिप श्रेष्ठ

गोरखा । पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।

बिहिवार बिहान ९ बजे गोरखा दरबारको हनुमान चौतारीबाट सेनाको टोली त्यसतर्फ निस्किएको हो । पश्चिम पृतना हे.क्वा. का पृतनापति उपरथी दिपक कुमार बानियाको प्रमुख आतिथ्यतामा भएको पदयात्रा शुभारम्भ कार्यक्रममा पृथ्वी नारायण शाहको पालामा स्थापना भएका गणहरुको झण्डा टोलीलाई हस्तान्तरण गरिएको थियो ।

टोलीलाई एक विशेष कार्यक्रमका बिच पश्चिम पृतनाका पृतनापति दिपक कुमार बानिया, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका हुन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) को झण्डा सहित नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको रिपुमर्दन गणका सेनानी हेम बिष्टले बताए ।

उपरी सेनानी बम बहादुर बोगटीको नेतृत्वमा ९ जना तत्कालिन पृथ्वी नारायण शाह कालिन सेनाको कालो पोसाकमा र २१ जना हालको नेपाली सेनाको पोसाकमा गरी ३० जनाको टोली पदयात्रामा सहभागी भएका छन् ।

गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका श्रि रिपुमर्दन गणको आयोजनामा पदयात्रा कार्यक्रम भएको हो । ‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो । तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले केहि बर्षदेखि हरेक पृथ्वी जयन्तीका अवसरमा पदयात्रा गर्दै आएको छ ।

पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट जाेर चाैतारी, ताप्ले, अश्राङ, बोर्लाङ्ग, घाटबेंसी हुँदै बोर्लाङ्गघाट पुगेर धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा आज बेलुका नै धादिङको शिव दल गणका टोलीलाई हस्तान्तरण गर्नेछ ।

धादिङको शिव दल गणको टोलीले केहि दिनपछि नुवाकोटको जर्बजङ्ग गणलाई हस्तान्तरण गर्नेछ । नुवाकोटले २६ गते काठमाण्डौको कालिधोज गणलाई हस्तान्तरण गर्नेछ र उक्त टोलीले सार्दोजगं गणलाई टर्च र झण्डा हस्तान्तरण गरेपछि उक्त टोली २७ गते काठमाण्डौं आयोजित पृथ्वी जयन्यतीमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

तस्विर : सुदिप श्रेष्ठ/सिभिलखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार